पोखरा, २२ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिदिएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा एमालेको पक्षमा प्रचार गरेको आरोप लगाउँदै आचार्यलाई बर्खास्त गरेका हुन् । मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वीकृत गरिसकेको जानकारी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले दिए । एमालेलाई सघाएको भन्दै सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले तुरुन्त हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्देशन दिएका थिए ।
मन्त्री आचार्यले हटाउनुको कारण थाहा नभएको बताएका छन् । आफूले एमालेको प्रचार नगरेको दाबी आचार्यको छ । उक्त मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाल्ने भएका छन् । आचार्य २०७८ जेठ २९ मा बीना विभागीय मन्त्रीमा नियुक्त भई असार ११ मा उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । पाँच वर्ष अघिको निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा आचार्य निर्वाचित भएका हुन् । मंसिर ४ गते हुने निर्वाचनमा माओवादीका फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएपछि आचार्य असन्तुष्ट भएका थिए ।
पार्टीका आधिकारिक उम्मेदवार देवकोटाविरुद्ध मन्त्री आचार्यले बागी उम्मेदवारी दिएको र पछि उम्मेदवारी झिकेका थिए । मन्त्री आचार्य एमालेको प्रचारमा बागलुङ, म्याग्दी लगायतका जिल्लामा एमालेको प्रचारमा भेटिएपछि आचार्यको पार्टीकै आग्रहमा मन्त्री पदबाट हटाइएको स्रोतले बताएको छ । सात महिना अघि पनि नीति तथा कार्यक्रमको विषयलाई लिएर मुख्यमन्त्री नेपाली र मन्त्री आचार्यबीच खटपट भएको थियो ।













