पोखरा, १२ कात्तिक । चितवन भरतपुरका श्रीकृष्ण पुडासैनी पाँचजना साथीसहित लुम्बिनी हुँदै शुक्रबार साँझ पोखरा आइपुगे । चारदिने भ्रमणमा निस्केका उनीहरु स्कुल अध्ययन गर्दाका साथीहरु हुन् । अहिले उनीहरु देशका विभिन्न कलेजमा अध्ययन गर्दै छन् ।तिहार र छट पर्वमा लामो बिदा हुँदा सबै साथी भरतपुर स्थित घरमा जम्मा भएपछि लुम्बिनी हुँदै पोखरा घुम्ने प्याकेज बनाएको पुडासैनी बताए । काठमाण्डौको भाइतिघर स्थित सेन्टजेबिएस कलेजमा एम्एसी फिजिक्स फोर सेमेष्टरमा अध्ययनरत पुडासैनी अरु पाँच साथी लिएर पोखरा घुम्न शुक्रबार साँझ पोखरा आइपुगे । घुम्नकै लागि उनीहरुको पहिलो रोजाई पोखरा नै बन्यो ।

पर्यटकीय शहर पोखराका रमणीय स्थल अवलोकन गर्नका लागि भरतपुरबाट लुम्बिनीहुँदै पोखरा घुम्न आएका ती विद्यार्थीले शनिबार बिहानैदेखि पोखराका पर्यटकीय स्थल पुम्दीभुम्दीको शन्ति स्तुप, शिवमहादेव मन्दिर, फेवातालको मध्य भागमा रहेको वाराही मन्दिरको अवलोकन गरिसकेका छन् । आइतबार केही स्थलको अवलोकन गर्दै फर्कने तयारीमा उनीहरु छन् ।
शुक्रबार साँझ पोखराको लेकसाइड आएका ती विद्यार्थीले होटलको कोठासमेत पाउन मुस्किल प¥यो लेकसाइड भरि खोज्यौ सबै होटलका कोठा प्याक भइसकेको खबर होटल संचालकले सुनाउदै गए । राति ९.३० बजेमात्र न्यू दर्शन होटलमा सुत्ने कोठा मिल्यो विद्यार्थी मध्येका एक मनिष पौडेलले भने– पोखरा यतिबेला आन्तरिक र भारतीय पर्यटकले भरिएको रहेछ, कोठा पाउनै मुस्किल भयो ।

त्यस्तै भक्तपुरबाट परिवारीक भ्रमणमा निस्केको २१ जनाको समुह गोरखाको मनकामनाहुँदै पोखराका धार्मिक तथा पर्यटकीय स्थल घुम्न आएको छ । उक्त समुहकी एक सदस्य जगनदेवी साहुखल शनिबार दिउँसो फेवातालमा डुंगाको पालो कुर्दै थिइन् । डुंगाबाट फेवातालको मध्य भागमा अवस्थित वाराही देवीको दर्शन गर्न जानकै लागि त्यो समुहले डुंगाको टिकट काटेको थियो तर पर्यटक भरिभराउ भएकै कारण उनीसहितको समुहले डुंगा चढ्नका लागि एक घण्टाको समय पर्खनु प¥यो । टिकट काटेको एक घण्टापछि मात्र फेवातालको मध्यभागमा रहेको वाराही मन्दिर दर्शन गर्न जानका लागि पालो पाएको उनीहरु बताउँछन् ।
काभ्रे जिल्लाको पनौतीबाटकपिलमणि हुँमागाईसहित ६ जनाको समुह काठमाण्डौहुँदै पोखरा घुम्न आएको छ । पोखरा पर्यटकीय र रमणीय स्थल भएका कारण पोखरा रोजेर घुम्न आएको र यहाँको फेवाताल तथा अन्य मनमोहक दृश्यले आनन्द दिलाएको बताउदै उनले भने – पोखरा त साचिँकै पोखरा नै रहेछ । डुंगा व्यवसायी चन्द्रकुमारी विश्वकर्माले दसैंमा वर्षादका कारण आन्तरिक पर्यटक आउन नसकेको र तिहार र छटपर्वमा मौसम सफा र एकैपटक लामो बिदा भएकै कारण आन्तरिक पर्यटकको चाप फेवातालमा पनि वढेको बताइन् । फेवातालमा डुंगा चढ्ने पर्यटक दुई दिनदेखि खचाखच भएको विश्वकर्मा बताउछिन् । डुंगा व्यवसयी यतिबेला व्यस्त छन् । व्यवसायीले प्रति पर्यटक डुंगा चढि मन्दिर पुगेर फर्केको ६० रुपैयाँ र लाइफ ज्याकेटको प्रतिगोटा दश रुपैयाँ लिने गर्छन् । पर्यटकको भीड वढेपनि डुंगा शुल्कमा बृद्धि नगरिएको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदीले लामो बिदा भएकै कारण केही मात्रामा आन्तरिक पर्यटकमा वृद्धि भएको र सरकारी बिदा सकिएपछि पर्यटक घट्ने बताए । अधिकांश आन्तरिक पर्यटकको पहिलो रोजाई पोखरा भएकाले पनि पोखरामा बिदाको समयमा आन्तरिक पर्यटक वढ्नु स्वभाविक भएको सुवेदी बताए । भारतीय पर्यटकको हकमा मुक्तिनाथ दर्शनका लागि जान पोखराहुँदै आउँने गरेको र उनीहरु मुक्तिनाथ जाँदा एक रात र फर्कदा एक रात मात्र पोखरामा वास बस्ने हुँदा भारतीय पर्यटकको बसाइँ पोखरामा दुईदेखि तीन दिनको बनाउन जरुरी भएको सुवेदीको भनाई छ ।
पोखरामा पाँचसय वढी पर्यटकीय होटल रहेको र एक दिनमा तीस हजारको संख्यामा पर्यटक सुत्न सक्ने कोठाहरु रहेको जानकारी होटल व्यवसायीहरुले दिर्दै आएका छन् । पोखरामा आउँने भारतीय धार्मिक पर्यटक पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर पनि पुग्ने गर्छन ।













