पोखरा, १२ मंसिर । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृति मध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्ला समयमा प्रत्येक छ÷छ वर्षमा गरिदै आइएको यो नृत्य अहिले पोखरामा प्रर्दर्शनको तयारी गरिएको छ । यही मङ्सिर १५ गतेदेखि सुरु हुने यो नृत्य आगामी चैत्र मसान्तसम्म गरिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिनुभयो ।
भय र दण्डका देवताको रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीन कालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ । तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जन विश्वास रहेको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा रहेको उहाँले बताउनुभयो । यसलाई गण नृत्य(गँ प्याखँ) भैरव नृत्य(भैल प्याखँ) आदि नाममा काठमांडौं उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिदै आएको उहाँले जानकारी दिनुभयो ।

पोखरामा पनि भैरव नृत्यको साढे दुई शताव्दी भन्दा पुरानो इतिहास रहेको बताउँदै उहाँले भन्नुभयो, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा शुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिदै आइएको छ ।” यसमा भैरव, काली, इन्द्रायणी, वराह, कुमारी, विष्णुवी, गंगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरि १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवम् संस्कृतिवीद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारंगा, राग तोडी, राग मालश्री लगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।
मृदङ्गा (खिं) झ्याली, ताः, धाः, सहनाई, (मुहाली) को बादनका माध्यमबाट संगीत सिर्जना गरिने यस नृत्यमा सामान्यतः १२ नर्तक ३० गायक १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा कलाकार, १० स्वयंसेवक तथा अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरि १०६ जनाको सहभागिता रहने अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । ठूलो संख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाँको लागत लाग्ने गुरु कृष्णदेव प्रधानाङ्गले जानकारी दिनुभयो । शास्त्रीय संगीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनहरूमा भक्तपुरका राजा रणवजीत मल्लको नाम उल्लेख भएकोले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ ।
पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको संस्कृतिवीद् श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अंकित हुलाक टिकट प्रकाशन गरेको थियो । पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व. सर्वज्ञमान प्रधानाङ्ग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिका निर्वाह गर्नुभएको थियो भने स्व. कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग र उपगुरु मेघबहादुर ताम्राकार हुनुहुन्छ । नृत्यमा उपयोग गरिने मुखुण्डोहरूलाई तन्त्रोक्त विधिवाट साक्षात शक्तिको जागरण गराईने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने समितिका कोषाध्यक्ष महेन्द्र बजिमयले जानकारी दिनुभयो । नृत्य सुरु गर्नुपूर्व कलाकारहरूलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको उहाँले बताउनुभयो ।
मुखुण्डोमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज गुभाजू, विविध मंगल गुभाजु हुँदै यस अघिको २०७२ को नृत्यमा डा. सिध्दिवीर कमाचार्य रहनुभएको थियो । यस वर्ष मुखुण्डो सिद्धीमा ललितपुरका श्री हिरा रत्न गुभाजु संलग्न हुनुभएको छ ।
यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यस वर्ष प्रशिक्षणमा करिव ३५० भन्दा बढी कलाकार सहभागी भएको र बाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएको अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । नृत्य अत्यन्त खर्चिलो भएपनि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाता महानुभावहरूबाट प्राप्त भएको सचिव सुरेन्द्रमान विजुक्छे जानकारी दिनुभयो । यही मङ्सिर १५ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मान स्वरुप भिमसेन मन्दिर भिमसेनटोलमा प्रदर्शन गरिने योजना छ । यो नृत्य १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणशमन्दिर भैरवटोल, २२ गते गुरु कृष्णदेव प्रधानाङ्गको निवास्थान भैरवटोल प्रदर्शन गरिने जनाइएको छ । नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।












