पोखरा, २७ कात्तिक । पर्यावरण र जैविक विविधतामा महत्व राख्ने संकटापन्न बगाले बगेडी चरा संरक्षणमा स्थानीय तह अन्तरगतका सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् ।
पोखरा पंक्षी समाजको संयोजकत्वमा आइतबार पोखराको लेखनाथमा आयोजित बगाले बगेडी चरा संरक्षण सम्बन्धी गोष्ठीमा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरुले त्यस्तो जोड दिनुभएको हो । बगाले बगेडी चरा सम्बन्धी अनुसन्धान कर्ता अनिषा राणाले साइवेरीयन क्षेत्रबाट जाडो छल्न नेपाल आउने उक्त प्रजातिको चरा विश्वव्यापी तथा राष्ट्रिय स्तरमै अत्यन्त न्यून संख्यामा रहेको जानकारी दिनुभयो ।

कात्तिक महिनाको अन्त्यमा नेपाल आउने आगन्तुक बगाले बगेडी चरा छ महिना नेपालमै बसेर जेठ महिनामा साइवेरीया तर्फ नै फर्किने गर्छन् । पोखराका केही तालको सिमसार क्षेत्रमा यिनीहरुको वासस्थान रहने गरेको छ । अनुसन्धान कर्ता राणाले भन्नुभयो– सर्वेक्षण गरे अनुसार औषत रुपमा पोखराको फेवा तालमा दुई सय ३० वटा, गुँदे तालमा १२ वटा र खाष्टे तालमा १३ वटा बगाले बगेडी भेटिएको र अन्य ६ वटा तालको भेटिएको छैन । सिमसार क्षेत्र, कृषि भूमि र घाँसे मैदानमा उक्त चराको वासस्थान रहने गर्छ ।
बगाले बगेडी चरा भँगेरा आकारको रङ्गीन र आकर्षक चरा भएको जानकारी अर्का अनुसन्धान कर्ता अमृत पौडेलले दिनुभयो । उहाँका अनुसार यो चराको औषत तौल २२ ग्राम , लम्बाई १४–१६ से.मि. भएको सानो चरा हो । जाडो मौसममा रुस, मङ्गोलिया, चीन लगायतबाट बसाइँसराइँ गरेर नेपालमा आउने गर्दछ । यसको आयु औषत रुपमा सात वर्ष हुने गर्छ । पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्न थालेपछि अहिले यो चरा विश्वमै अतिसङ्कटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेशनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्याङ्कले देखाएको जानकारी पौडेलले दिनुभयो । उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय पोखराका वन अधिकृत शालिग्राम पराजुलीले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिदै जाँदा बासस्थान विनाश र अव्यवस्थितरूपमा विषादीको प्रयोगलगायतका कारणाले बसाइँसराइँ गरी आउने पाहुना चरालाई प्रभाव पार्ने गरेको बताउनुभयो । वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हा, पराजुलीले भन्नुभयो । उक्त अवसरमा बगाले बगेडी चरा संरक्षण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ८८६ प्रजातिका चरा अभिलेखीकरण भएको र विश्वमा ११ हजार २२५ प्रजातिका पक्षी हेको जानकारी दिइएको थियो । नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी नौ प्रजातिका पंछीलाई संरक्षित पंक्षी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो ।
ग्रीष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १५२ प्रजातिका पक्षी जाडो छल्न नेपाल आउने गर्दछन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउनुको साथै ७९ प्रजातिका चरा भने फिरन्तेका रूपमा देखिने गरेका छन् । सन् २००४ देखि २०१७ सम्म तथ्याङ्कलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अतिसङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिइएको छ । पोखरामा नौ वटा तालहरु भएतापनि यहाँ चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै जाने गरेको जानकारी पोखरा महानगरपालिकाका वातावरण अधिकृत निर्मलमानसिंह भण्डारीले दिनुभयो ।
सानो चराले बर्सेनि गर्ने हजारौँ किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैँमा रोमाञ्चक रहेको जनाउँदै त्यस्तो चराको संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचो देखिएको गुंदे ताल संरक्षण समितिका अध्यक्ष बामदेब ढुंगानाले बताउनुभयो । वेगनासताल संरक्षण समितिका प्रतिनिधि कृष्ण ढुंगनाले स्थानीय स्तरमा ताल वरपरका वासिन्दालाई पक्षी मैत्री वातावरण सृजना गर्न जनतेतना मूलक कार्यक्रम दिनुपर्नेमा जोड दिनुभयो । नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले वातावरण र जैविक विविधताका वारेमा राजनीतिक दलका नेतालाई जानकारी गराई नीतिगत रुपमै सिमसार क्षेत्रको महत्वको बारोमा जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
पर्यटन व्यवसायी दामोदरभक्त थापाले पर्यापर्यटनमा चराको ठूलो महत्व हुने भएकाले उनीहरुको वासस्थान जोगाई राख्न र हरेक वर्ष ति चरा नेपालमा आउने वातावरण हामीले बनाउनुपर्नेमा जोड दिनुभयो । विकाससँगै बिनासपनि आएकाले सिमसार क्षेत्र मासिदै गएको भनाई उहाँको छ । पोखराका नौ वटै ताल फेवा, वेगनास, रुपा, खाष्टे, न्यूरेनी, मैदी, गुँदे, दिपाङ र कमल ताल चराको लागि संरक्षित स्थान भएकाले ति लाको वातावरण बिगार्ने काम मानवबाट हुन नहुने भनाई फेवा ताल संरक्षण समितिका भरतराज तिवारीको छ ।













