पोखरा, १४ कात्तिक ः पोखराका वर्तालुहरुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छट पर्व समाप्त गरेका छन् । बिशेषगरी तराई तथा भारतीय मुलका हिन्दूहरुले प्रत्येक वर्ष मनाउँदै आएको छट पर्व पूजाको महत्नव पहाडी क्षेत्रमा भन्दा पनि तराई क्षेत्रमा व्यापक हुने गरेको छ । त्यसैगरी पोखरामा बस्दै आएका तराई तथा भारतीयले हिन्दूहरुले पनि सोमबार बिहान पोखराका चार घाटबाट उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छट पर्व समाप्त गरेका छन् ।\
पोखराको केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार स्थित पार्वती छन घाट, नदीपुर स्थित नारायणस्थानको सेतीनदी छट घाट, कालीखोला र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीको छट घाटबाट चार हजार भन्दा वढी वर्तालुहरुले सोमबार बिहान ६.१५ बजे एकै समयमा उदाउँदो सूर्यलाई अर्घ दिएर छट पर्व समाप्त गरेका छन् । उदाँउदो सूर्यलाई अर्घ दिएपछि उनीहरुले खुशीसाथ सामुहिकरुपमा प्रसाद ग्रहण गरेका थिए ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ सोमबार बिहान फेवाताल स्थित पार्वती छट घाटमा पुगि वर्तालुहरुसँग छट पर्वको खुशी साटासाट गर्नुभएको थियो । यस वर्ष छट पर्व पूजालाई व्यवस्थित गर्न बनेको छट पर्व पूजा समिति पोखराका विभिन्न घाटहरुमा टेण्टको व्यवस्था समेत गरेको थियो । समितिका अध्यक्ष रामआधार प्रसाद गुप्ताले छट पर्वमा पूजा, स्नान तथा राति जाग्राम बस्दा वर्तालुहरुले दुःख, कष्ट भोग्न नपरोस भनेर टेण्ट र घाटहरुलाइृ व्यवस्थित गरिएके जानकारी दिनुभयो । तराई तथा भारतीय मुलका हिन्दूहरुले पोखरामा ३५ वर्षदेखि छट पर्व मनाउँदै आएको र छट पर्व मनाउनेको संख्या प्रतिवर्ष वृद्धि भएकै कारण भीड बढ्न थालेपछि नदी तथा तालका घाटहरुलाई यस वर्षदेखि व्यवस्थित गर्न लागिएको बताइएको छ ।
पूजा समितिका सचिव गोरखनाथ जैसवालले यस पर्वमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठा पूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रुपमा आफू र व्रत नबस्ने परिवारका अन्य सदस्यलाई समेत ख्वाउने चलन छ । परम्परा अनुसार छट पर्वको दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिने चलन छ ।
सूर्य उपासनासँग सम्बन्धित छट पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरु स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन जसलाई खर्ना भनिन्छ समितिका उपाध्यक्ष अनिल गुप्ताले भन्नुभयो । शुद्ध भावनाले यो वर्त बस्नाले तुरुन्त फलपनि पाइने विश्वस धर्मालम्बीहरुको छ । कार्तिक शुक्ल चतुदर्शीका दिनबाट छट पर्व शुरु हुन्छ । यो पर्व नेपाल र भारतका विभिन्न स्थनमा मनाइन्छ ।













