खोटाङ : ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार २०८२’ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामविक्रम थापालाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै शिक्षक थापालाई रु १० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
शिक्षण पेसामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत शिक्षक थापा २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त हुनुभएको थियो । सहिद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो ।
सहिद मनोज जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कृत शिक्षक थापालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । दिक्तेलको अस्पतालचोकस्थित सहिद जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा सहिद जोशीको सालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो ।
हरेक वर्ष प्रदान गरिँदै आइएको ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरगालिका–१ हाटडाँडा निवासी निजामती सेवाबाट निवृत्त (छैटौँ अधिकृत) सन्देश ताम्राकारलाई प्रदान गरिएको थियो । सहिद मनोज–झपेन्द्र स्मृति दिवसका अवसरमा जिल्लामा साउन १३ गते सहिद मनोजमार्ग सरसफाइ र साउन १४ गते जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
विसं २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीहरूले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बन्नुभएका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौताअनुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा ऐक्यबद्धता जनाउँदै सहभागी बन्नुभएका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको हो ।
विरोध जुलुस बजार परिक्रमा गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली सहिद जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शीहरू बताउँदै आएका छन् । परिवार तथा जिल्लावासीको लामो समयदेखिको मागका बाबजुद जोशीलाई नेपाल सरकारले २०७४ साल माघ २२ गते सहिद घोषणा गरेको हो ।
कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारी जागिरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)ले मनोज–झपेन्द्र स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।
दिक्तेलका बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा सहिद मनोज जोशीको २०३० साल असोज २३ गते जन्म भएको थियो । वास्तविक नाम सर्मेन्द्र भए पनि मनोजका नामले परिचित जोशी अखिल नेपाल जनवादी युवा लिग, इन्द्रेणी सांस्कृतिक समाज तथा अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो ।













