काठमाडौँ- लोकप्रिय टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’को निर्माण टिमले अब चलचित्र निर्माणमा पाइला राखेको छ। टिमले सोमबार ‘क का कि की’ नामक फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा फिल्मको घोषणा गरेको हो।
फिल्ममा नेपाली फिल्म क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरू—गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा देखिनेछन्। साथै टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारी लगायत कलाकारहरू विशेष भूमिकामा रहनेछन्।
थिम पोस्टरमा देखिएको पात्रहरूको हाउभाउ, शीर्षक र निर्माण टिमको अनुभव अनुसार फिल्म पूर्णतः हास्यप्रधान शैलीमा निर्माण गरिने बताइएको छ।
फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुने फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको सहलेखन रहनेछ। सिनेमाटोग्राफी सुदीप बरालले गर्नेछन्। थिम पोस्टर रोयल भिमसेनले डिजाइन गरेका हुन्।
फिल्मको नेपाल वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिनेछ। टेलिभिजनमार्फत दर्शकको मन जितिसकेको ‘कमेडी दरबार’ टिमको यो पहिलो सिनेमेटिक प्रोजेक्ट हो।
निर्देशक अग्रवालका अनुसार फिल्मको छायांकन दशैंको टिकाको भोलिपल्टबाट सुरु हुनेछ। बजेट र प्रदर्शन मिति भने हाल सार्वजनिक गरिएको छैन।
घोषणा कार्यक्रममा बोल्दै निर्देशक अग्रवालले भने, “फिल्मी यात्रा सुरुआतमै अग्रज कलाकारहरूसँग सहकार्य गर्ने अवसर पाएको छु, जुन मेरो लागि सौभाग्य हो। हामीलाई विश्वास छ कि ‘क का कि की’ ले टेलिभिजनमा जस्तै हलमा पनि दर्शकको हाँसो ल्याउनेछ।”













