दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ।
कारागारमा १६० जनाको क्षमता भए पनि हाल ४५६ जना कैदीबन्दी रहेका छन्। कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार, तीमध्ये २७ जना महिला र २६ जना भारतीय नागरिक छन्। सबैभन्दा बढी १६७ जना लागुऔषध सम्बन्धी मुद्दाका कैदी रहेका छन्।
“महिला कैदीका लागि २० र पुरुषका लागि १४० जनाको क्षमता हो,” जोशीले बताए, “क्षमताभन्दा बढी भएकाले पाल र टिनको व्यवस्था गरेर राखिएको छ।” उहाँका अनुसार, गत पुषमा कैदी संख्या ५८० पुगेको थियो। अहिले अदालतले मुद्दा छिटो टुंग्याउँदा केही घटेको बताइएको छ।
कारागारमा अन्य जिल्लाबाट स्थानान्तरण भएर आउने कैदी पनि छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार, लागुऔषधको लतले चोरी, ठगी, जबरजस्तीकरणी र हत्या जस्ता घटनामा संलग्न हुने प्रवृत्ति बढेकाले कैदीको संख्या वृद्धि भएको हो।
कारागारमा हाल महिला हिंसा, चोरी, ठगी, जबरजस्तीकरणी र ज्यान मार्ने उद्योग जस्ता मुद्दामा संलग्न कैदी पनि रहेका छन्।













