१) आत्मा नै वन्धु र शत्रु हो । जसले आत्मालाई जितेको छ, त्यो उसको बन्धु हो । जसरी दुई ठूला माछा जालमा फसेर पनि जाल काट्दछन् त्यसरी नै काम र क्रोधले ज्ञानलाई डढाउँछन् ।
२) जो निडर भएर पिताका वचनको निरादर गर्दछ र कुसङ्गतमा लाग्दछ, त्यो पुत्र मूर्ख र अधम हो । त्यसको जन्मले कसैलाई सुख मिल्दैन ।
३) ज्ञानले भय भाग्छ, तपले महत्ब्रह्मको प्राप्ति हुन्छ । गुरुसेवाले ज्ञान प्राप्ति हुन्छ र यो सुख–दुःखमा समभावमा रहनाले शान्ति प्राप्त हुन्छ ।
४) जो व्यक्ति विभिन्न देशका व्यवहार, मान्यता र भाषाहरुलाई तथा विभिन्न जातिका अचारलाई राम्रोसँग बुझ्दछ ऊ विशेष रुपले बुद्धिमान छ । यस्तो व्यक्ति जहाँ जहाँ गए पनि मानिसले उसको प्रभाव स्वीकरा गर्दछ ।
५) जसरी ढुङ्गाभित्रबाट सुन निकालिन्छ, त्यसैगरी निरर्थक बोल्ने बौलाहा तथा कर कर गरिरहने केटाकेटीबाट पनि तत्वको कुरा ग्रहण गर्नुपर्दछ ।
६) अग्निमा तपाउनाले सुनको पहिचान हुन्छ । सदाचारबाट असल मानिसको पहिचान हुन्छ । व्यवहारबाट साधुको, भयको स्थितिमा बहादुरको, धन सङ्कटमा धैर्यवानको तथा आपदमा मित्र र शत्रुको पहिचान हुन्छ ।
७) वेदज्ञाता ब्राह्मणले जुन व्यक्तिको घरमा — उसको लोभ, भय वा छुच्चो स्वभावका कारण मधुपर्क र दान दिएको गाई स्वीकार गर्दैन, श्रेष्ठ व्यक्तिको दृष्टिमा त्यस व्यक्तिको गृहस्थ जीवन सार्थक मानिदैन ।
८) जो जङ्गली चामल, कन्दमुल फलसाग आदि खाएर जीवन निर्वाह गर्दछ त्यो इन्द्रिय संयमी हो । जो विधिपूर्वक जप गर्दछ, आलस्य नगरी अतिथि सेवा गर्दछ र वनमा बसी तप गर्दछ त्यस्तो व्यक्ति महान् पुण्यात्मा हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट











