सरकारले संघीय प्रहरी ऐन यो अधिवेशनभित्रै पारित गर्ने घोषणा गरे पनि हालको परिस्थिति हेर्दा त्यो लक्ष्य पुरा हुने सम्भावना कम देखिन थालेको छ। दशकौँदेखि समयसापेक्ष कानूनको पर्खाइमा रहेको प्रहरी संगठन अझै नयाँ संरचना र विधिको प्रतिक्षामा नै रहेको छ।
असार ११ गतेदेखि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयकमाथि विधिवत छलफल सुरु भएको थियो। तर, एकाएक समितिमा प्रस्तुत कुलिङ पिरियड विवादले समितिको नैतिकता र विश्वसनीयतामाथि प्रश्न उठेको छ।
निजामती विधेयकमा देखिएको अनियमिततापछि समितिमा प्रहरी विधेयकमाथिको छलफल गत असार १७ गतेपछि रोकिएको छ। त्यसयता बसेका बैठकहरूमा विधेयकमाथि कुनै औपचारिक प्रगति हुन सकेको छैन। सभापति रामहरि खतिवडाको भूमिकामाथि उठेका शंका र सचिवस्तरीय मिलेमतोको चर्चा समितिलाई निष्क्रिय बनाउने दिशामा उन्मुख देखिन्छ।
प्रहरी संगठनमा नयाँ संरचनाको आधार निर्माण गर्ने भनिएको विधेयकको अनिश्चितताले उच्च तहका अधिकारीहरूको भविष्य पनि अन्यौलमा परेको छ। यथास्थितिमा विधेयक असार मसान्तभित्र पारित नहुने हो भने आईजीपी दीपक थापा, एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ लगायतका अधिकृतहरू ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानुपर्नेछ। तर यदि ऐन समयमै पारित भयो भने उमेर हद तथा पदावधिका आधारमा उनीहरूको कार्यकाल थपिनेछ।
प्रस्तावित ऐनले ३० वर्षे सेवा अवधिको व्यवस्थालाई हटाउँदै उमेर र पदावधिका आधारमा अवकाशको व्यवस्था गर्न खोजेको छ। आईजीपीको उमेर सीमा ५८ बाट ६० वर्ष, एआईजी, डीआईजीको ५६ बाट ५९, एसएसपी र एसपीको ५५ बाट ५८ पुर्याउने प्रस्ताव गरिएको छ।
यस्तै, डीएसपीदेखि जवानसम्मका तहमा पनि अवकाश उमेर संशोधन गरिएको छ।
बढुवा प्रणालीमा समेत परिमार्जन गरिंदैछ। पहिलेको ७.५ अंकको स्थानमा अब बढुवा समितिले दिने जम्मा ३ अंक, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको अंकको अनुपात परिवर्तन, शैक्षिक योग्यता र तालिमको गणनामा नयाँ सूत्र प्रस्ताव गरिएको छ।
यो विधेयक समयमै पारित भएमा संगठनभित्र ठूलो संख्यामा अधिकृतहरूको सेवा अवधि स्वतः लम्बिने सम्भावना रहन्छ। जुन कुरा कतिपय पदका आकांक्षीहरूलाई अप्ठ्यारो हुने संकेत पनि बनेको छ।
अहिले प्रहरी प्रधान कार्यालयले मातहतका युनिटहरूबाट सुझाव संकलन गर्दै नयाँ ऐनबारे आन्तरिक तयारी तीव्र बनाएको बुझिएको छ। समायोजन, सरूवा अधिकार, जिल्लास्तरीय संरचना, प्रदेश प्रहरीको भूमिका लगायत विषयमा अझै टुंगो लाग्न बाँकी छ।












