काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई प्रधानमन्त्रीले संरक्षण दिएको र सत्ता गठबन्धनमा रहेको आफ्नै पार्टी निरीह बनेको भन्दै सरकारको कार्यशैलीमाथि कडा टिप्पणी गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि पनि पदमा रहेको र सोमबारको मन्त्रिपरिषद् बैठकमा यो विषयले प्रवेश नै नपाएको घटनालाई लक्षित गर्दै कोइरालाले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् ।
उनले सत्ता र शक्तिको आडमा भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्ति मौलाएको सङ्केत गर्दै लेखेका छन्, ‘यस्तै रहेछ यहाँको चलन: मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन् ।’
कोइरालाको टिप्पणीले मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर ‘सहमति’ जुटाएपछि कारबाहीबाट जोगिएको भन्ने चर्चालाई बल पुर्याएको छ । नेता कोइराला सरकारप्रति मात्र होइन, सत्ता गठबन्धनको प्रमुख घटक भएर पनि भ्रष्टाचारविरुद्ध मौन बसेको आफ्नै पार्टी नेपाली कांग्रेसप्रति पनि उत्तिकै आक्रामक देखिएका छन् । उनले कांग्रेसको भूमिकालाई ‘साक्षी किनाराका सदर’ को संज्ञा दिँदै सत्तामा रहेर पनि निरीह बनेकोमा व्यङ्ग्य गरेका छन् ।
उनले लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।’













