सल्यान, सामुदायिक सुरक्षा र शिक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यले हिमालयन बैंक लिमिटेड कुमाख शाखाले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सल्यानको कुमाख गाउँपालिका–३, रागेचौरमा अवस्थित दुई सामाजिक संस्थालाई उपयोगी सामग्री हस्तान्तरण गरेको छ।
हिमालयन बैंक कुमाख शाखाले जनता माध्यमिक विद्यालय रागेचौरलाई एक थान प्रोजेक्टर सेट र इलाका प्रहरी कार्यालय रागेचौरलाई ९० दिन भण्डारण क्षमतायुक्त ४ थान सीसीटीभी क्यामेरा सेट हस्तान्तरण गरेको हो। इलाका प्रहरी कार्यालय रागेचौरले बन्गाड कुपिण्डे क्षेत्रको समेत सुरक्षा व्यवस्था सम्हाल्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ।
बैंकका शाखा प्रबन्धक नवीन डाँगीले सरकारी संस्थाहरूलाई लक्षित गर्दै शिक्षामा प्रविधिको पहुँच र सुरक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले सहयोग गरिएको बताए। “विद्यालयका लागि प्रोजेक्टर र प्रहरीका लागि सीसीटीभी क्यामेरा आवश्यक र प्रयोगयोग्य छन्,” उनले भने।
जनता माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज रावतले प्रविधिमैत्री सिकाइ प्रक्रियामा बैंकको सहयोग महत्वपूर्ण हुने बताउँदै भने, “समाज एक–अर्काको परिपूरक हो। यस्ता सहयोगहरूले सिकाइ सहज र प्रभावकारी बन्छ।”

त्यस्तै, इलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले सुरक्षा सुदृढीकरणमा सीसीटीभी क्यामेराको प्रयोग अत्यन्तै उपयोगी हुने उल्लेख गर्दै बजार तथा कार्यालय क्षेत्रहरूमा ती क्यामेरा जडान गरिने जानकारी दिए। “सुरक्षामा प्रहरी र सहयोगमा समाज—बैंकले देखाएको सहकार्य उदाहरणीय छ,” उनले भने।
कार्यक्रममा उद्योग वाणिज्य संघ सल्यानका सदस्य तथा रागेचौर बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर रानाले बैंकको सामाजिक उत्तरदायित्वमा देखिएको सक्रियताप्रति आभार व्यक्त गरे। उनले बैंकले वित्तीय सेवा मात्र नभई सामाजिक कार्यमा समेत अग्रसर भूमिका खेलेको उल्लेख गरे।
अनौपचारिक रूपमा सम्पन्न दुवै कार्यक्रमको सहजीकरण जनता माविका शिक्षक नन्दराम भारतीले गरेका थिए। कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष तथा वडा नं. १ का सदस्य डम्बर शाही, विद्यालयका पदाधिकारी, शिक्षक, ग्लोबल आइएमई लघुवित्तका शाखा प्रबन्धक सुनिल शाह, हिमालयन बैंकका कर्मचारी चन्द्र प्रकाश रावत, कृष्ण बहादुर राना, भिम बहादुर रावत, प्रहरी अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।
हिमालयन बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।













