रसुवामा मंगलबार बिहान आएको विनाशकारी बाढीले जनधनमा भयावह क्षति पुर्याएसँगै चीनको सूचना आदन प्रदानप्रतिको उदासीनता फेरि एकपटक बहसको केन्द्रमा आएको छ। हिमताल फुटेर आएको आशंका गरिएको बाढीबारे नेपालले समयमै कुनै औपचारिक चेतावनी नपाएको पुष्टिसँगै चीनले सम्भावित जोखिमको जानकारी लुकाएको भन्ने आरोप उठेको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव अधिकारी भन्छन्, अनौपचारिक तथा औपचारिक रूपमा चीन तर्फ मनसुन बारे जानकारी मागेका थियौँ त्यस्तो केही सूचना आएन,
चिनियाँ टोली यही असार ८ गते निर्माणाधीन सुख्खा बन्दरगाहको निरीक्षण गर्न आएको थियो र त्यही बेला मौसम बदलिन सक्ने चेतावनी दिएको थियो। सतर्कता भने सुझावको तहमा मात्रै सीमित भयो, ठोस पूर्वसूचना दिइएन।
यसरी सूचनाको अँध्यारोमा परेर ११ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने १९ जना अझै बेपत्ता छन्। त्यस्तै ४ वटा कन्टेनर, छ वटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ । बाढीले रसुवागढीमा रहेको चीन नेपाल जोड्ने मितेरी पुल नै बगायो। भने जलबिद्युत आयोजना, निर्माणाधिन सुख्खा बन्दरगाहमा क्षति पुग्यो ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बती समकक्षीसँग मौसम सम्बन्धी जानकारी माग्दा पनि चीनतर्फबाट कुनै औपचारिक सूचना प्राप्त भएको थिएन। जिल्लाका सहायक प्रमुख ध्रुव प्रसाद अधिकारीले पनि चीनले बाढी सम्भावनाबारे समयमै जानकारी नदिएको स्वीकार गरेका छन्।
विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्टले सीमावर्ती जिल्लाले कहिलेकाहीँ सूचना पाउने गरे पनि त्यो केन्द्र सरकारसम्म पुग्न नसक्ने अवस्था रहेको बताए। तर रसुवाले यस्तो सूचना पाएको प्रमाण देखिँदैन।
यसबाहेक, यसअघि सिन्धुपाल्चोकको मेलम्ची बाढीका बेलामा पनि चीनले समयमै सूचना नदिएको भन्दै आलोचना भएको थियो। तिब्बती भूभागमा रहेका हिमताल र हिमनदीहरूबारे चीनले अध्ययन गरे पनि त्यसको प्रतिवेदन नेपालसँग साझा नगर्नु चिन्ताको विषय बन्दै आएको छ।
जल तथा मौसम विभागले प्रारम्भिक अध्ययन अनुसार हिमताल फुटेर बाढी भएको हुन सक्ने बताएको छ। विभागले असार २१ गते र असार २४ गते लिएको तस्बिरको तुलना गरेको छ। असार २१ गतेको तस्बिर अनुसार हिमनदीको बीचको भूभागमा विकास रहेको सुप्रा ग्लासियर लेक (हिमताल) छ। जुन करिब ०.७५, वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ। तर २४ गते लिएको तस्बिरमा भने हिमतालको क्षेत्रफल ०.१५ ले घटेर करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ।
बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ। हिमतालको सतही स्वरूपमा उल्लेख्य परिवर्तन भएको देखिएको छ। यसैगरी तालबाट तलको क्षेत्रमा समेत परिवर्तन देखिएको छ। ताल उल्लेख्य रूपमा घटेकाले हिमतालबाट पानी निकासी भएर बाढी गएको हुन सक्ने बताएको छ।
इन्टरनेश्नल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन डभलपमेन्ट (आइसीमोड)का अनुसार सुप्रा ग्लासियर लेक भनेको हिमनदीको सतहमाथि बन्ने ताल हो। विशेषगरी ढुंगामाटोले ढाकिएको भागहरूमा यस्ता तालहरू बढी देखिन्छन्। यी तालहरू धेरै नै परिवर्तनशील र छोटो समयमै हराउने हुन्छन्। यी प्रायः सानो पग्लिएको पानीका पोखरीबाट सुरु भएर विस्तारै हुँदै ठूला तालमा परिणत हुन्छन्। यस्ता तालहरू पहिचान गर्न प्रायः उपग्रहबाट लिइने तस्बिरमा भर पर्छ। डेटामा सीमित स्पष्टता भएका कारण साना वा छोटो समयमै हराउने जलाशयहरू छुट्न सक्छन्।
आइसीमोडका अनुसार तापक्रमको वृद्धिले हिम उत्पत्ति भएका बाढीहरूमा दुई प्रमुख कारण हुन सक्छन्। पहिलो कारण तापक्रम वृद्धिका कारण हिमतालहरूको निर्माण र विस्तार हुन्छन्। दोस्रो कारण भनेको अल्पकालीन तापक्रम वृद्धि हो। कुनै विशेष दिनमा तापक्रमको अचानक वृद्धि हुनुले अचानक हुने घटनाहरू जस्तै बरफको पहिरो, बरफ टुक्रनु, वा स्लोप फेल्योर हुन सक्छ ।
हिमताल फुटेर आउने बाढी अन्य बाढी भन्दा फरक हुन्छ। माटो, ढुंगा र अन्य मलिलो पदार्थ सहितको बाढी आउने हुँदा शुद्ध पानी मात्र भएका बाढीभन्दा धेरै बढी विनाशकारी हुन्छन्। जसले गर्दा तलतिरको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। रसुवामा भएको क्षतिमा यही कारण हुन सक्ने विभागको अनुमान छ।
विशेषज्ञहरूका अनुसार सीमा पारिको जोखिमबारे सूचना नआउँदा नेपालमा बर्सेनि जनधनको क्षति बढिरहेको छ। तर चीनजस्तो ठुलो छिमेकी देशबाट संवेदनशील सूचना नआउनुले अबको दिनमा अझ गम्भीर संकटको कारण बन्न सक्ने देखिएको छ ।













