आकारमा सानो तर गुणमा गहकिलो मसला परिवारको एउटा सदस्य हो ज्वानो । आयुर्वेदिक व्याख्या अनुसार ज्वानोले कफ तथा वात दोषलाई सन्तुलित गर्दछ भने पित्त बढाउने काम गर्दछ । पित्त बढाउनुको तात्पर्य हो पेटको पाचन प्रणालीलाई सशक्त बनाउनु । यो जति स्वादप्रदायक छ, त्यति नै स्वास्थ्यप्रदायक पनि । मसलाको रुपमा प्रयोग गरिएको ज्वानोले पेटको अग्निलाई प्रदीप्त गर्दछ, भोकमा वृद्धि गर्छ र अजीर्ण, अपच एवम् उदरशूलमा पनि रामवाणको काम गर्दछ ।
सासको दुर्गन्ध, घाँटीको कफ र खोकी लाग्दा ज्वानो चपाउने सल्लाह वैद्यहरु दिने गर्दछन् । पुरानो खोकी तथा श्वासप्रश्वास रोगमा यसको धुलो र पोलेको धुवाँ सेवन गर्नाले यथेष्ट फाइदा पुग्दछ । भनिन्छ, शरीरभित्र प्रवेश गर्ने हानिकारक ब्याक्टेरियाको आक्रमणबाट बचाउन ज्वानो उत्तम एन्टीबायोटिक पनि हो । दमरोगले सताएका बेला यसको सेवनले तत्काल राहत मिल्छ ।
ज्वानोको सुगन्धले घर तथा भान्सा वरिपरी रहेका हानिकारक किराफट्याङ्ग्रा लामखुट्टेलाई लखेट्न सहयोग पु¥याउँछ ।
पीडादायक रजस्वला तथा सुत्केरी व्यथामा ज्वानोभन्दा हितकारी तत्व अर्काे छैन ।
यसले गर्भशायलाई प्राकृतिक आकारमा राख्न र प्रजननसम्बन्धी रोग हुनबाट बचाउँछ ।
खानापछि मुखशुद्धिका लागि लिइने सुपारी, सुप, ल्वाङ, सुकुमेलझैँ ज्वानो पनि त्यसको एक उत्तम विकल्प हो ।
चुरोट, अफिम, पान तथा गुट्खाको कुलत छोड्न चाहनेका लागि उपयुक्त विकल्प हो ज्वानो ।
जाडो मौसम शुरु हुने वेलामा फैलने भाइल ज्वरोमा यसको सेवन प्रतिरोधात्मक मानिन्छ ।
पेटको जुका, टाँसिने जुका, पेटका किरा आदिको हानिलाई रोक्न ज्वानो अमृततुल्य औषधी हो ।
शरीर दुखेको र थकानको बेला ज्वानो र लसुन पकाएको तेलले मालिस गरे पीडा घट्दछ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













