काठमाडौँ : गत मंगलबार मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकामध्ये थप दुईजनाको शव फेला परेको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका-७ स्थित व्यारेज पुलमा ती शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
अन्यको खोजी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा जारी राखेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
असार २४ गते मध्यरातमा आएको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए। यसअघि ६ जनाको शव फेला परेको थियो भने पाँच वटा मानव अङ्ग भेटिएको थियो। थापाका अनुसार फेला परेकोमध्ये एक वटा शवको मात्र पहिचान हुनसकेको छ। बाँकी शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।













