सुर्खेत । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रम मार्फत सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले घोषणा गरेका हुन् ।
भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा हुन सकेको प्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरताको लागि आग्रह गरे । कार्यक्रममा बोल्दै उनले बदलिएको व्यवस्था पश्चात् स्वास्थ्य जनशक्ति बढे पनि स्वास्थ्य सूचकहरूमा सुधार आउन नसकिरहेको टिप्पणी गरे ।
सुर्खेतमा बढ्दो बसाइसराइका कारण वीरेन्द्रनगर जस्ता स्थानीय तहहरूमा चुनौती थपिएकोले स्वास्थ्यकर्मीहरूको सक्रियता र जिम्मेवारीपन आवश्यक रहेको पनि उनको भनाइ छ ।
सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले रोगहरूको निदानका लागि सहज भएको बताए ।प्रदेश खोप समिति संयोजक एवम् सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए ।
स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।जिल्ला खोप समन्वय अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको बताए ।
सुर्खेतमा ०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएको थियो । ०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।













