पोखरा, ५ माघ । सडक आश्रित मानवहरुको उद्धार, उपचार र पालनपोषण गर्दै आएको मानव सेवा आश्रम पोखराले भवन निर्माण तथा बेसहाराका लागि कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ संचालन गर्ने भएको छ ।
पोखरामा यही माघ २० देखि २७ गतेसम्म भवन निर्माणस्थल हेम्जामा महायज्ञ संचालन गर्न लागिएको जानकारी आश्रमका कोषाध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सेनाले दिनुभयो । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथाबाचन गर्नुहुने भएको छ ।
आश्रमको पोखरा शाखा ६ वर्षदेखि सहयोगी हातबाट धानिँदै आएको छ । पोखरा–१७ को छोरेपाटन र पोखरा–२५ हेम्जाको बाबियातरामा संचालन हुँदै आएको उक्त आश्रममा बस्दै आएका एक सय ५० जना आश्रित बस्नका लागि भवन निर्माण तथा उनीहरुको खानपिनको लागि कोष स्थापनाका गर्न महायज्ञ संचालनमा ल्याउन लागिएको तिमिल्सेनाले बताउनुभयो ।
पोखराको छोरेपाटन र हेम्जामा आश्रित एक सय ५० जनाका लागि मासिक १५ लाख रुपैयाँ आवश्यक पर्छ । सहयोगी दाताले दिँदै आएको नगद तथा जिन्सी सामग्रीबाट ६ वर्षदेखि आश्रम चल्दै आएको जानकारी तिनमिल्सेनाले दिनुभयो ।
दश वर्षअघि मकवानपुर जिल्लाको अब्बलडाँडाबाट पाँच जना सडक आश्रित मानवलाई उद्धार गरी संचालनमा आएको उक्त आश्रमले हाल देशभर १९ जिल्लामा २३ सेवाकेन्द्र संचालन गरी एक हजार पाँच सय जना सडकआश्रित मानवहरुको सेवा गर्दै आएको दावी तिमिल्सेनाको छ ।
आश्रमले पोखरामा वि.स. २०७४ सालदेखि शाखा विस्तारगरी सेवा केन्द्र संचालनमा ल्याएको छ । पोखरा–१७ छोरेपाटन स्थित सेवा केन्द्रमा ५० जना महिला र पोखरा–२५ हेम्जा सेवा केन्द्रमा एक सय जना पुरुष आश्रित रहेको जानकारी प्रमुख तिमिल्सेनाले दिनुभयो । उनीहरु सबै पोखराका सडकपेटीबाट उद्धार गरिएका आश्रित हुन् । आश्रितका परिबार खेजेर पुनः मिलन कार्यमा समेत दश वर्षदेखि सक्रिय आश्रमलाई नेपाल सरकारले मानव अधिकार दिवसको दिन मानवअधिकार पुरस्कारबाट सम्मान समेत गरेको छ ।
पोखरा सेवा केन्द्रमा रहेका १५० जनाको पालनपोषण, उपचार, सरसफाइ, घरभाडा, खाद्यान्न, विद्युत र लत्ताकपडाका लागि मासिक १५ लाख रुपैयाँ खर्च हुँदै आएको र त्यो रकम सहयोगी हातहरुबाट प्राप्त दानले चल्दै आएको जानकारी तिमिल्सेनाले दिनुभयो ।
आम नागरिकको मुठ्ठी दान, जन्मदिन, विवाह वर्षगाँठ, पितृहरुको पुण्यतिथी, संस्थाको वार्षिकोत्सव, पदोन्नति, पर्व लगायतका विभिन्न अवसर र दिवसमा मानवीय सेवाभावले गराउने भोजनसेवा साथै स–प्रेम हुने नगद र जिन्सी सहयोगबाट संस्था चल्दै आएको जानकारी मानवसेवा आश्रम भवन निर्माण उपभोक्ता समितिका अभ्यक्ष विष्णु बरालले दिनुभयो ।
पोखराको छोरेपाटन र हेम्जामा भाडामा बस्दै आएको आश्रमले हेम्जामा आफ्नै भवन निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ । पोखराको हेम्जा स्थित बाबियातरा स्थित लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले ६३ रोपनी क्षेत्रफलको जग्गा भोकाधिकार प्राप्त भएपछि आश्रमले तीन वर्ष अघि आफ्नै भवन निर्माण कार्य सुरु गरेको हो । पाँच सय जना बस्नसक्ने क्षमताको भवन निर्माणाधीन अवस्थामा छ ।
करिब दश करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको उक्त भवन निर्माणको लागि गण्डकी प्रदेश सरकारले साढे दुई करोड रुपैयाँ र पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गरेका छन् भने अन्य रकम सहयोग दाताबाट संकलन भइरहेको अध्यक्ष बिष्णु बरालले जानकारी दिनुभयो ।
बरालका अनुसार आश्रमको भवन निर्माण कार्य ६० प्रतिशत सकिएको छ । प्रदेश र स्थानीय सरकारबाट प्राप्त भएको तीन करोड रुपैयाँ र अन्य दाताबाट प्राप्त करिब तीन करोड रुपैयाँ प्राप्त गरी ६० प्रतिशत काम गरेका छौं अब चार करोड रुपैयाँ भए भवन पूर्ण रुपमा सम्पन्न हुने थियो बरालले भन्नुभयो ।
आश्रमको भवन निर्माण सम्पन्न र अक्षयकोष स्थापना गर्नका लागि सहयोग सृंकलन गर्ने उद्देश्यले नेपालका दश शहरहरुमा नेपथ्य लाइभ कन्सर्ट सम्पन्न् भएका छन् । सयौंको संख्यामा सहेका असाय असक्त अभिभावक विहीन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरु आश्रित मानवसेवा आश्रमका लागि कुनै विपत्ति ,भवितव्य र कठिन परिस्थितिमा प्रयोग गर्न मिल्नेगरी अक्षयकोष स्थापना गर्न लागिएको जानकारी संस्थाका सदस्य दिनेश शर्माले वताउनुभयो । वि.स.२०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहीत बनाउने योजनाका साथ आश्रम अगाडि वढेको बताइएको छ ।












