काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा र समसामयिक राजनीतिक परिस्थिति छलफल गर्न सचिवालय बैठक बोलाएको छ। बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।
प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा पतञ्जलि जग्गा प्रकरण, पार्टीको आगामी रणनीति, र केन्द्रीय कमिटीका निर्णय कार्यान्वयनबारे विस्तृत छलफल हुनेछ।
अध्यक्ष नेपाल विशेष अदालतमा उपस्थित भएर बयान दिइसकेका छन्। उनीमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि कार्यवाहक अध्यक्ष तोक्ने वा संसदीय दलको नेतृत्वबारे निर्णय गर्न दबाब बढिरहेको छ।
यो मुद्दा दर्ता भएपछि पार्टी सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो, जसले नेकपा एसको आगामी राजनीतिक कदम कता जान्छ भन्ने संकेत दिनेछ।













