वाशिङटन।इरानका भूमिगत परमाणु केन्द्रहरूसम्म पुग्ने र ध्वस्त पार्न सक्षम विश्वकै सबैभन्दा ठूलो गैरपारमाणविक सुरुङ ध्वंसक बम ‘जीबीयू-५७ए/बी म्यासिभ ओर्डनेन्स पेनिट्रेटर’ हाल संयुक्त राज्य अमेरिकामा मात्र छ।
१३,६०० किलोग्राम तौलको यो बमले इरानको गहिरो पहाडमुनि रहेको फोर्दो परमाणु ऊर्जा प्रशोधन केन्द्रलाई लक्षित गर्न सक्छ। अमेरिकाले यो अत्याधुनिक बम हालसम्म इजरायललाई उपलब्ध गराएको छैन।
यो बम करिब ६१ मिटर गहिराइमा प्रवेश गरी कडा चट्टान भित्रसम्म मार हान्न सक्छ। यसले आवश्यक परेमा लगातार एकपछि अर्को बम खसालेर गहिरो सुरुङहरूमा पनि प्रभाव पार्न सक्षम छ।
बोइङ कम्पनीद्वारा निर्माण गरिएको को परीक्षण सफलतापूर्वक न्यू मेक्सिकोमा गरिएको छ, तर यो कुनै युद्धमा प्रयोग भइसकेको छैन। यसले ‘मदर अफ अल बम्स’ भन्दा समेत बढी शक्तिशाली विस्फोट गर्न सक्छ।
यो बम अमेरिकाको अत्याधुनिक बी-२ स्प्रिट स्टेल्थ बम्बरसँग मात्र बोक्न सकिन्छ, जसको उडान दायरा इन्धनभर बिना ११ हजार किलोमिटर भन्दा बढी छ। बी-२ बमवर्षकसहित एफ-२२ लडाकु विमान र ड्रोनहरूको सहयोगमा यसको उपयोग सम्भावित छ।
इरानको फोर्दो परमाणु केन्द्र, जो ८० मिटरभन्दा बढी गहिराइमा छ, आधुनिक सुरक्षा प्रणाली र क्षेप्यास्त्रले संरक्षित छ। यस केन्द्रमा युरेनियम प्रशोधन ८३.७ प्रतिशत पुगिसकेको छ, जसले परमाणु अस्त्र बनाउन सजिलो बनाएको छ।
इजरायलले यस केन्द्रमाथि आक्रमण गर्ने चाहना राखेको भए पनि यसको लागि आवश्यक अस्त्र र क्षमता उससँग छैन। अमेरिकाले सीधै संलग्नता बिना इजरायललाई अनुमति दिन सक्ने स्थिति छैन।
विशेषज्ञहरूका अनुसार, यो बम इरानको परमाणु कार्यक्रमलाई नष्ट गर्ने ‘गेम चेन्जर’ हुन सक्छ तर यसको सफल प्रयोगमा अझै अनिश्चितता छ।
प्रहरी तथा रक्षा अधिकारीहरूका अनुसार, अमेरिकाको सीमित मात्रामा १० देखि २० वटा बम रहेको अनुमान छ र यसको प्रयोग द्वन्द्वलाई नयाँ उचाईमा पुर्याउन सक्ने छ।













