बेनी, म्याग्दी ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले आन्तरिक परीक्षण सफल गरी विद्युत् उत्पादन सुरु गरेको हो।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार, टर्बाइन र प्रसारण लाइनको परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर अन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो। विद्युत् विकास बोर्ड, नेपाल विद्युत् प्राधिकरण र ठेकेदार कम्पनीका प्राविधिकहरूले परीक्षण गरेका थिए।
प्राविधिक समस्या नदेखिएपछि करिब २० दिनको परीक्षण अवधि पछि व्यावसायिक उत्पादन सुरु गरिनेछ। आयोजनाले २०७७ देखि पहुँचमार्ग निर्माण सुरु गरेको थियो र २०७९ सालदेखि भौतिक पूर्वाधार निर्माणमा लागिरहेको थियो।
नारच्याङको बेँसीगाउँदेखि लेकगाउँ हुँदै बाँध र विद्युत्गृहसम्म १३ किलोमिटर सडक पहुँचमार्ग बनाइएको छ, जसले स्थानीय बासिन्दालाई सडक यातायात सुविधा दिएको छ। बाढीले केही क्षति पुर्याए पनि आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो।
विद्युत्गृहमा दुई टर्बाइन जडान गरी उत्पादन थालिएको छ। बाँध क्षेत्रमा पोखरी, अण्डर स्वीच, डिसेन्डर आउटलेट, इन्लेट, फोरवेललगायत पूर्वाधार बनाएर ३५०० मिटर लामो पेनस्टक पाइपमार्फत पानी विद्युत्गृहमा खसाली उत्पादन भइरहेको छ।
विद्युत्गृहको पानी खसाल्ने हेड ५१० मिटरको छ। दाना सबस्टेशन जोड्न ३३ केभी, ४.३ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ। रु १ अर्ब ३५ करोड लगानीमा बनेको आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्।
सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालिले ठेक्का पाएका थिए। अक्करे भिर पहाड पार गर्दै प्राकृतिक विपत्तिसँग जुध्दै आयोजना पूरा गरी विद्युत् उत्पादन सुरु गरिएको हो।
नारच्याङमा पहिले पनि ११० मेगावाट क्षमताको नीलगिरि एक र नीलगिरि क्यासेट, ५ मेगावाटको घलेम्दीखोला र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाहरू राष्ट्रिय प्रसारणमा जोडिसकिएको छ।













