खजुरा (बाँके)। डुडुवा गाउँपालिकाले यस वर्षदेखि आफैँले तयार पारेको धानको बीउ किसानलाई अनुदानमा वितरण गर्न सुरु गरेको छ। पालिकाले धानको मूल बीउ उत्पादन गरी उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो।
पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माका अनुसार, समूह र सहकारी गरी जम्मा १४ सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरिएको छ। एक सय २० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत वितरण गरिएको हो। ८० क्विन्टल मूल बीउ लगाएपछि पालिकाले समय-समयमा प्राविधिकबाट परीक्षण गराई उत्पादनका आधारमा थप मूल बीउ खरिद गरी प्रशोधन तथा भण्डारण गर्नेछ।
धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यस वर्षको बीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ।
बीउ उत्पादनमा आत्मनिर्भरताको लक्ष्य
यस वर्षदेखि बीउ भण्डारण सुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा जोड दिने पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यस वर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ। करिब दुई सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएको र किसानको मागका आधारमा थप वृद्धि गर्दै जाने शाखा प्रमुख शर्माले बताए। उनले अहिले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परीक्षण गर्ने कार्य भइरहेको जानकारी दिए।
किसानलाई पालिका आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ। डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकाले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए।
बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको छ। डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ। बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिकटन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ।













