काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अझै पनि लागिरहेको छ—नेपाल दरबारकै इशारामा चल्नुपर्ने देश हो। जनताको बलिदान, संविधान र लोकतान्त्रिक मूल्यलाई बेवास्ता गर्दै उनी पुनः सिंहासनको पुरानो भूत बोकेर सक्रिय भइरहेका छन्। धर्मको खोल ओढेर उनी सत्ताको लोभ लुकाउन खोज्दै छन्, तर त्यो ‘धार्मिक भ्रमण’ अब धेरैका लागि सत्ता-प्राप्तिको सांकेतिक अभ्यास जस्तै देखिन थालिसकेको छ।
जेठ १५, गणतन्त्र दिवसको दिन—जब सारा देशले जनताको शासनको उत्सव मनाउँदै हुन्छ—त्यही दिनलाई छनोट गरी राजसंस्थाका समर्थकहरूले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन गर्ने घोषणा गरिसकेका छन्। संयोग मात्र हैन, यो योजनाबद्ध राजनीति हो, जसमा पूर्वराजा स्वयं साङ्केतिक तरिकाले उत्रिएको देखिन्छ।
केही दिनअघि सोल्टी होटलमा आयोजित राजावादी भेलामा शाहले चिया–बिस्कुटको बहानामा रणनीति बनाउँदै राजसंस्थावादी नेताहरूसँग सामूहिक लञ्च मिटिङ गरे। त्यसपछि शनिबार सपरिवार नारायणहिटी दरबार पुगे—जहाँ चतुव्र्युह धाम नारायण मन्दिरमा पूजाआजा गरिएको भनिए पनि त्यो ‘धार्मिक कर्तव्य’ भन्दा धेरै ‘राजनीतिक सन्देश’ जस्तो लाग्यो।
यो केवल संयोग होइन कि शाहको सक्रियता बढेसँगै तिनकुनेमा राजावादीहरूको प्रदर्शन भड्कियो, जसमा दुःखद रूपमा दुई युवा मारिए। हिंसात्मक आन्दोलनपछि पनि नेतृत्व थप आक्रामक देखिएको छ—दुर्गा प्रसाईं प्रहरी हिरासतमा छन्, रविन्द्र मिश्र जमानतमा। तर यो सबैको पछाडि रहेको मौन उपस्थितिलाई बिर्सन सकिन्न—शाह स्वयं।
राजावादीहरूले गणतन्त्रकै दिनलाई आन्दोलनको लागि छान्नुको अर्थ के हो? के यो सिधै जनतामाथि खुला चुनौती होइन? के उनीहरूको उद्देश्य ‘राजा फर्काउने’ मात्रै हो, कि देशलाई पुनः अस्थिरता र अराजकता तर्फ लैजाने?
ज्ञानेन्द्र शाहको यो तथाकथित धार्मिक सक्रियता, वस्तुतः राजनीतिक मंच निर्माण गर्ने चाल हो—जो लोकतन्त्रका विरुद्ध एक सुनियोजित धक्का जस्तो देखिन्छ। अब समय आइसकेको छ—सार्वजनिक रूपमा प्रश्न उठाउने कि शाह र उनका समर्थकहरू देशलाई कुन दिशामा लैजान खोज्दै छन्?
नेपाल अब त्यो युगमा छैन जहाँ जनता शिर निहुराएर राजा हेर्थे। यो गणतन्त्रको युग हो—जहाँ जनता स्वयं राजा छन्। इतिहास फर्काउने प्रयास विफल हुनेछ, र जनताले पुनः प्रमाणित गर्नेछन्—नेपाल अब दरबार होइन, लोकतन्त्रले चलाउने देश हो।













