गुल्मी। मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ।
पौराणिक महत्व बोकेको मालिका मन्दिर परिसर वरपर देखिने सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ। यहाँ वर चिच्याएर माग्नुपर्दछ भन्ने जनविश्वास छ। विशेष पर्वहरूमा यहाँ श्रद्धालुहरूको घुइँचो लाग्ने गर्छ। गुल्मीलगायत अर्घाखाँची, बागलुङ, प्युठान, बुटवल, काठमाडौँलगायत ठाउँबाट भक्तजनहरू दर्शन एवं पूजाआजा गर्न आउने गरेका छन्। मालिका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ। भाकल गरेपछि परेवा उडाउने र बली दिने प्रचलन पनि यहाँ छ।
मन्दिर नजिकैको ठूलो चट्टानबाट निस्किएको पानीको मूल यस मन्दिरमा पुग्नेहरूका लागि थप सुन्दर र आकर्षक मानिन्छ। सानो पानीको कुण्डमा रङ्गिबिरङ्गी माछाहरू तैरिरहेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ। स्थानीय ज्ञानहरी सापकोटाले बताएअनुसार, मालिका मन्दिरमा बैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीमा हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्छ।
मालिका क्षेत्रमा किम्मु, बर र सिमलका रुखहरू रहेको र तिनै रुखको फेदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्बदन्ती छ। उक्त क्षेत्रमा प्रशस्त मात्रामा वनजङ्गल रहेकाले जङ्गली जनावर र चराचुरुङ्गीको वासस्थान रहेको छ। पौराणिक मान्यताअनुसार, पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान माग्न भन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरूले दुःख पाएको भनेर पुकार गरेपछि देवी मालिका भगवती प्रसन्न भएर मन्दिर परिसरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने भनाइ छ। चट्टानको बीचमा सानो जलकुण्ड छ। यहाँ साउन र माघ महिनामा बली चढ्दैन।
मन्दिर नजिकैको स्वाँरामा होमस्टे (घरबास) सञ्चालन गरिएको छ। मन्दिरबाट फर्केपछि दर्शनार्थीहरू होमस्टेमा बास बस्नुका साथै रैथाने वस्तुका विभिन्न परिकारको स्वाद लिने गरेका छन्। मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेलले मालिका क्षेत्रको विकासका लागि नगरपालिकाले सडक, खानेपानी, मन्दिर पुनःर्निमाण, व्यवस्थापनलगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको बताए।













