बन्दीपुर (तनहुँ)। तनहुँको म्याग्दे गाउँपालिका–५ अन्तर्गत बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ।
सङ्घीय सरकारको तीन करोड रुपैयाँ बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको पानीको समस्याबाट मुक्ति पाएका हुन्।
स्थानीय पदममाया थापाले खानेपानीको मुहान टाढा भएका कारण विगतमा एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्ने बाध्यता हटेको बताइन्। घरआँगनमै धारा जडान भएपछि त्यस्ता दुःखका दिनहरू बिर्सिएको उनको भनाइ छ। खानेपानीको समस्या हटेपछि घरधन्दा तथा अन्य काम गर्न पनि सहज भएको सोही वडाकी राधाकुमारी थापाले बताइन्।
उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाका अनुसार उक्त आयोजना अन्तर्गत तीनवटा मुहानबाट पानी सङ्कलन गर्न तीनवटा ट्याङ्की निर्माण गरिएको छ। तीमध्ये दुईवटा ५०–५० हजार लिटर र एकवटा ७५ हजार लिटर क्षमताका ट्याङ्की रहेका छन्। आयोजना पूरा भएसँगै करिब ९०० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन्।
म्याग्दे–५ का अध्यक्ष शिवबहादुर आलेले धाराबाट २४ सै घण्टा पानी आउने सुविधा भएपछि स्थानीयको दैनिकी नै परिवर्तन भएको बताए। उनका अनुसार अब खाली समयलाई कृषिमा प्रयोग गर्न थालिएको छ, जसले आम्दानी बढाउन सहयोग पुगेको छ। विगतमा महिलाको अधिकांश समय पानी बोक्नमै बित्ने गरेकामा अहिले भने उनीहरू घर र व्यावसायिक गतिविधिमा सक्रिय हुन थालेका छन्।
म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र पारिएको जानकारी दिए। खानेपानीसँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ छ।













