काठमाडौँ। प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मत कार्यका लागि १९ दिन बन्द रहने जानकारी गराएको छ। यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सबै चालकहरूलाई अनुरोध गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयसँगको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई असुविधा नहोस् भन्ने उद्देश्यले यो सूचना जारी गरिएको बताए।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनका लागि यही जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ।
वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, “नेपाल प्रहरी हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) प्रयोग गरी आवागमन गर्नु/गराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराउँदछ।” स्थानीय प्रशासन तथा स्थानीय तहसँगको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ।













