तानसेन (पाल्पा)। पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा आजदेखि पहिलो पटक दुई दिने ‘शालिग्राम महोत्सव’ सुरु भएको छ। कालीगण्डकी नदीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा यो महोत्सव आयोजना गरिएको हो।
तानसेन नगरपालिका, रुरु क्षेत्र गाउँपालिका, कालीगण्डकी गाउँपालिका र पर्यटन डिभिजन कार्यालयको संयुक्त आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको सहकार्यमा सञ्चालन भइरहेको महोत्सवलाई लुम्बिनी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ।
महोत्सवको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक भएकाले यस ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले लुम्बिनी प्रदेशलाई तपोभूमि उल्लेख गर्दै यस्ता महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
शालिग्राम दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवमा धार्मिक, सांस्कृतिक र पर्यटनमूलक कार्यक्रमहरू समावेश छन्। महोत्सवमा शालिग्रामको प्रचारप्रसार, महत्व र प्रवर्द्धनबारे जानकारी दिइने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए। महोत्सवमा एक हजार आठ शालिग्रामको पूजा, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी ¥याली, भजनकीर्तन र कालीगण्डकीमा सन्ध्याकालीन आरती जस्ता कार्यक्रमहरू रहेका छन्।
हिन्दू धर्मशास्त्रमा शालिग्रामलाई भगवान विष्णुको शिला स्वरूप मानिन्छ। यसको धार्मिक महत्वका साथै अनौठो बनावटले पनि यसलाई विशेष बनाएको छ। श्रीस्वस्थानी व्रतकथा अनुसार विष्णु भगवानले जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गरेपछि वृन्दाले विष्णुलाई शिला हुनुपरोस् भनी श्राप दिएकाले उनी शालिग्राम स्वरूपमा रहनुपरेको उल्लेख छ। शालिग्रामको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व भएकाले यसको खोजी गर्नेहरू बर्सेनि बढिरहेका छन्।
किंवदन्ती अनुसार सोह्रौँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला पारेका थिए र सोही मूर्तिलाई प्रतिस्थापन गरिएको मानिन्छ। कालीगण्डकीमा स्नान गर्न र ऋषिकेशव, गायत्रीमाता लगायत विभिन्न देवालयको दर्शन गर्न भक्तजन यहाँ आउने गर्छन्।













