पोखरा, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गरेका थिए । नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् । मतदानमा ५८ सांसद उपस्थित थिए । खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिएका थिएन भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहेका छन् । मनाङेले बिहीबार नै खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए ।
संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपील गरेका थिए । तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका थियो । एमालेका नेता अधिकारीलाई माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् ।
गण्डकी प्रदेश सभामा शुक्रबार मुख्यमन्त्रीमा विश्वासको मत लिनुअघि संसद भित्र छलफलमा उठेका कुराको जवाफ दिँदै मूख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि विपक्षसँग हातेमालो गरेर अगाडि वढ्न आफू जनसुकै समयमा पनि तयार रहेको विश्वास व्यक्त गरेका छन् । गण्डकी प्रदेशको समृद्धिका लागि आफू राजनीति भन्दा माथि उठेर काम गर्ने बताए । गण्डकी प्रदेश सरकारको हैसियतले विकास निर्माणका कार्यमा अगुवाई गर्ने दायित्व आफ्नो रहेतापनि विकासमा विपक्षी दल काँग्रेसलाई समेत समेटेर अगाडि वढ्ने प्रतिवद्धता मुख्यमन्त्री अधिकारीले व्यक्त गरे ।
६१ वर्षको उमेरसम्म इमान र निष्ठाको राजनीति गर्दै आएको बताउँदै मुख्यमन्त्री अधिकारीले आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार गर्न पनि नदिँने प्रतिवद्धता व्यक्त गरेका छन् । भ्रष्टाचार गर्नुभनेको आफ्नै आमाको रगत पिउनु सरह हो, भन्दै मुख्यमन्त्री अधिकारीले सरकार जनताको सेवक हो, उनले भने । यस क्षेत्रका जनताको समृद्धिका लागि आफू दिनरात प्रयासरत रहने बताउदैँ उहाँले यस क्षेत्रको पर्यटन, जलविद्युत, कृषि, शिक्षा, स्वास्थ्य, सडक संजालको स्तरउन्नति, संविधानको मौलिक अधिकारका साथै यस क्षेत्रका जनताको खानेपानी लगायतका कुरामा आफ्नो ध्यान जाने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशको आय स्रोत वृृद्धि गर्न यहाँको जलविद्युत, पर्यटन, कृषि , खनिज, जडिबुटी, प्राकृतिक संरचनाको उपयोगमा आफ्नो जोड रहने भनाई उनको छ । साथै उनले प्रदेशमा प्राप्त अधिकार लिनका लागि आफूले संघ सरकारलाई दवाव दिने र यसमा विपक्षीदलको समेत सहयोग प्राप्त हुने भनाई मुख्यमन्त्री अधिकारीको छ ।
छलफलमा भाग लिँदै गण्डकी प्रदेश सरकारका प्रमुख प्रतिपक्षी दलका नेता सरेन्द्र पाण्डेले प्रदेशलाई समृद्ध बनाउने कुरामा प्रतिपक्ष सधै सरकारसँगै हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । नेपालको संविधानले प्रदेशलाई दिएको अधिकार कार्यान्वयन गर्न र समृद्ध प्रदेश बनाउने मुख्य जिम्मेवारी नेपाली काँग्रेसको पनि भएकाले त्यस्ता कार्यमा आफू सधै सक्रिय रहने र सहयोग गर्ने पाण्डेको भनाई थियो ।













