नेपालको भविष्य आफ्नै देशमा युवाहरूलाई सफल बनाउनमा निर्भर छ। दैनिक रूपमा धेरै युवा नेपालीहरूले विदेशमा अवसर खोज्ने क्रम जारी रहेको अवस्थामा, अमेरिकी सरकार यू.एस. दूतावास युवा परिषद् (USYC) कार्यक्रममार्फत नेपालका युवाहरूलाई नेतृत्व, नवीनता, र आफ्नै समुदायमा अवसर सिर्जना गर्न सशक्त बनाउन प्रतिबद्ध छ।

यू.एस. दूतावास युवा परिषद् नेपाल कार्यक्रम अन्तर्गत सातै प्रदेशका ५५ जना होनहार युवा नेताहरूलाई छनोट गरिएको छ, जसले आफ्नो नेतृत्व क्षमता मजबुत बनाउने, उद्योग विज्ञहरूसँग जडान स्थापित गर्ने, र युवाहरूका लागि नेपालभर अवसर सिर्जना गर्ने विभिन्न पहलहरू अघि बढाउने छन्।
काठमाडौंमा सम्पन्न चारदिने गहन अभिमुखीकरण कार्यक्रममा सहभागी भएपछि, यूएसवाईसीको १५औं ब्याच अब आफ्ना समुदायहरूमा र नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान दिन तयार भएको छ। कार्यक्रमको क्रममा, युवाहरूले उद्यमशिलता, कृत्रिम बुद्धिमत्ता, शासन व्यवस्था, र डिजिटल कथावाचन जस्ता क्षेत्रमा काम गरिरहेका नेपाली नवप्रवर्तक र पेशेवरहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरे। नयाँ सीप र नेटवर्कको साथ, यी युवा नेताहरूले आफ्ना समुदायमा सकारात्मक परिवर्तन ल्याउने तयारी गरेका छन्।

अमेरिकी सरकार नेपालमा युवा नेतृत्वलाई सशक्त बनाउने, घरमै अवसरहरू विस्तार गर्ने, र दीर्घकालीन स्थायित्वमा योगदान पुर्याउने प्रतिबद्धतामा दृढ छ। सशक्त र समृद्ध नेपालले दुवै राष्ट्रबीचको साझेदारीलाई अझ मजबुत बनाउनेछ। जब नेपाली युवा नेताहरू सफल हुन्छन्, नेपाल फस्टाउँछ—र हाम्रो मित्रता अझ गाढा बन्छ।













