सम्राट अशोकका केही अमर वाणीहरुः
१) मेरो राज्यमा कसैले प्राणी हत्या गरेर हवन नगरोस्, सामाजिक व्यवहार नगरोस् ।
२) माता–पिताको सेवा गर्नु, मित्र परिचित स्वजाति बान्धव ब्राह्मण र श्रमणलाई दान दिनु, जीवहिंसा नगर्नु, थोरै खर्च गर्नु र थोरै सञ्चय गर्नु असल हो ।
३) धर्मको अनुशासन नै श्रेष्ठ हो । जो शीलवान छैन उरले धर्मको आचरण पनि गर्न सक्दैन । त्यसैले धर्माचरणको वृद्धि गर्नु र त्यसको हानि हुन नदिनु असल हो ।
४) असल काम गर्न कठिन हुन्छ । जो असल काममा लाग्छ ऊ कठिन काम गर्दछ । मैले धेरै असल काम गरेको छु, त्यसैले मेरो पुत्र नाति, पनाति र त्यसपछिका सन्तानले पनि कल्पको अन्त्यसम्म पनि अनुशरण गर्नेछन् । परन्तु जो यस कर्तव्यलाई अलिकति पनि त्याग्नेछ उसले पाप गर्नेछ, किनकि पाप गर्न सरल छ ।
५) सबै मानिसको हित नै मैले आफ्नो प्रधान कर्तव्य ठान्दछु । सबैको हित गर्नु भन्दा ठूलो अरु कुन कार्य छैन । जे जति पराक्रम म गर्दछु त्यो यस कारण कि सबै प्राणीप्रति जुन मेरो ऋण छ त्यसबाट ऊऋण हुन सकुँ र यस लोकमा मानिसलाई सुखी बनाउँ तथा परलोकमा तिनलाई स्वर्गलाभ गराउँ ।
६) कुनै प्राणीको पोषण कुनै अन्य प्राणीको हिंसाबाट नहोस् ।
७) सबै स्थानमा सबै सम्प्रदायका मानिससँगै निवास गरुन्, किनकि सबै सम्प्रदाय स्वयम् र चित्तको शुद्धि चाहन्छन् । तर भिन्न भिन्न मनुष्यको प्रवृत्ति तथा रुचि राम्रो–नराम्रो, उच्च–निकृष्ट हुन्छ । तिनले या त पूर्ण रुपले या अंश रुपले धर्मको पालन गरुन् । जसले अधिक दान दिन सक्दैनन् तिनमा सम्यम, कृतज्ञता र दृढशक्ति हुनु आवश्यक छ ।
८) म यश वा कीर्तिलाई ठूलो कुरा सम्झन्न । जे जति यश कीर्ति म चाहन्छु त्यो यस कारण कि वर्तमान र भविष्यमा मेरा प्रज्ञा सेवा कार्यमा र धर्म र व्रत पालन गर्नमा उत्साहित बनून् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













