पोखरा, २७ पुस । गुणस्तरीय र स्वच्छ खाद्य पदार्थ उपभोग गर्न पाउने आम उपभोक्ताको अधिकार भएपनि पछिल्ला वर्षहरुमा खाद्य पदार्थमा हुने मिसावटका कारण मानिसहरुमा अनेकौं प्रकारका घातक रोगहरु देखा पर्न थालेको बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा र नेपाल लाइभस्टक इनोभेसन आयोजनाद्धारा खाद्य स्वच्छता र असल पशुपालन अभ्यासको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्तहरुले यस्तो जोड दिएका हुन् । उक्त अवसरमा बोल्दै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण व्यवस्था कार्यालयका सचिव सहदेव प्रसाद हुमागाँइले खाद्य पदार्थ मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले दुध उत्पादकहरु संवेदनशील हुन जरुरी भएको बताउनुभयो ।
पशुपालक कृषकको अवस्था दयनीय भएकाले उनीहरुलाई दिँदै आएको वर्तमान अनुदानको मोडालिटीलाई नै बदल्नु पर्ने भनाई उहाँको छ । सरकारी अनुदान लिएर कृषि पेशामा लागेकाहरु पलायन हुने क्रम वढी रहेको तथ्याङ्क दिँदै सचिव हुमागाइँले सरकारले दिगो रुपमा कृषि व्यवसायमा लाग्नेलाई मात्र अनुदान दिन आवश्यक भएको बताउनुभयो । नेपाल लाइभस्टक इनोभेसन कार्यालय पोखराका प्रमुख डा. केशवराज ज्ञवालीले स्वच्छ र गुणस्तरीय दुध उत्पादन गर्नका लागि किसानले आफ्ना पशुलाई स्वस्थ राख्न समयसमयमा जाँच गर्न जरुरी हुने बताउनभयो ।
गुणस्तरीय र स्वच्छ दुध भएन भने त्यसको असर सबैभन्दा वढी वालवालिकालाई पर्ने बताउँदै ज्ञवालीले गाईभैंसीको गोठ सरसफाइमा पनि त्यतिकै ध्यान दिन जरुरी हुने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले छिटो सड्ने बस्तु दुध र मासु स्वच्छ भएन भने मानिसमा अनेकौं प्रकारका रोग लाग्ने बताउनुभयो । पशुहरुमा लाग्ने माटे, खोरेज जस्ता रोगहरु बेलाबेलामा जाँच गर्न आवश्यक हुने भनाई उहाँको छ । पशुपालक कृषक शोभाखर भण्डारीले दानाको मूल्य अत्याधिक मात्रामा वृद्धि हुँदा कृषकहरु पलायन हुने अवस्थामा पुगेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका ४० जना पशुपालक कृषक तथा कृषि उद्यमीहरुको सहभागिता रहेको थियो ।













