पोखरा, २६ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल सफल पार्न आफूले सक्दो प्रयास गर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाको १२ औं नगर सभालाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न आफूले विभिन्न प्रयत्नहरु गर्ने बताउनुभयो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थललाई अन्य विमानस्थलसँग जोड्न कसरी सकिन्छ भन्न्े सोँचमा छु र आजैका मितिबाट विभिन्न जहाज कम्पनीहरुसँग छलफल अगाडि वढाउने आश्वास समेत मुख्यमन्त्री अधिकारीले दिनुभएको छ ।
त्यस्तैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलकै कारण स्थानान्तरण गर्नुपरेको ल्याण्डफिल साइट संचालनमा पनि आफ्नो ध्यान केन्द्रीत रहको भनाई उहाँको छ । प्रदेश सरकारलाई केन्द्रले माइलो छोराको रुपमा हेर्ने गरेकै कारण बजेट थोरै हुँदा जनताको चाहना अनुसार काम गर्न सक्ने अवस्था छैन, तर पनि यहाँका जनताको चाहनालाई आफूले सम्बोधन गर्ने भनाई उहाँको छ ।
गण्डकी प्रदेशलाई समृद्ध बनाउनका लागि आफू अगाडि वढ्ने बताउँदै मुख्यमन्त्री अधिकारीले प्राकृतिक रुपमा सुन्दर प्रदेशलाई प्रर्यटकीय रुपमा विकास गर्न जरुरी भएको बताउनुभयो ।
साथै उहाँले गण्डकी क्षेत्रकै एक मात्र महानगरपालिकालाई सुन्दर र हराभरा बनाउने दायित्व जनप्रतिनिधि र सबै नगरवासीको भएको हुँदा त्यसतर्फ ध्यान दिन समेत मुख्यमन्त्री अधिकारीको जोड थियो ।













