महोत्तरी । चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर तीन वर्षदेखि स्थगित छ ।
‘चिस्यानघर बन्ने आशा थियो,’ बर्दिबास–९ का सुरजसिंह कुशवाहाले भने, ‘तर निर्माण रोकिएपछि आश मर्यो ।’ वि.सं २०७५ मा सुरु भएको चिस्यानघर निर्माण नगरपालिकाले प्राथमिकतामा नराख्दा सम्पन्न नभएको कुशवाहा बताउछन् ।
वि.सं २०७५ मा नगरपालिकाले चिस्यानघर निर्माण सुरु गरेको थियो । वि.सं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले चासो नदेखाएको किसानको गुनासो छ । बर्दिबास–२, ६ र ८ को मध्यमा ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र चिस्यानघर निर्माण सुरु गरिएको थियो ।
कुल २२ करोड अनुमानित लागतमा बन्न थालेको चिस्यानघर तीन हजार मेट्रिक टन कृषि उत्पादन सुरक्षण गर्ने क्षमताको हुने लागत अनुमानमा उल्लेख छ ।
‘अहिले हाम्रा फसलले मूल्य पाएका छैनन्,’ बर्दिबास–१२ बिजलपुराका किसान रामविलास सिंह भन्छन्, ‘चिस्यानघर बनेको भए गत साउनमा पाकेको आँप हामी अहिले बजारमा पु¥याएर राम्रो मूल्य लिन सक्ने थियौँ ।’
बन्न थालेको काम किन अड्क्यो भन्ने सर्वसाधारणको चिन्ता जायज नभएको नगर प्रमुख प्रल्हाद क्षेत्री बताउछन् । उनले भने, ‘यो ठूलो रकमको महत्वाकाङ्क्षी योजना भएकाले पछिल्ला दिनमा आवश्यक बजेट अभावमा निर्माण अघि बढाउन नसकिएको हो ।’ क्षत्रीले सङ्घीय र प्रदेश सरकारबाट चिस्यानघर निर्माणमा सहयोग जुट्नासाथ काम अघि बढाउने बताए ।
चिस्यानघरको बाहिरी संरचना निर्माण भइसकेको छ । हालसम्म छ करोड खर्च भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले मेयर कृषि कार्यक्रम सञ्चालनका लागि छुट्याएको बर्दिवास–२, ६ र ८ नं वडामा पर्ने एउटै प्लटमा ८४ बिघा जग्गा छ । सो जग्गाभित्र चिस्यानघर निर्माण थालिएको हो ।
बर्दिबास कृषि कार्यक्रमअन्तर्गतको ‘मोडल एग्रो भिलेज’ नमूना कृषि स्थल बनाइने नगरपालिकाले जनाएको छ । यहाँबाट अभिलेखीय प्रणालीको कृषि व्यवस्थित गरिने जनाइएको छ ।
‘बर्दिबास कृषि कार्यक्रममा हामी नगरका सबै किसानलाई समेट्छौँ,’ नगरप्रमुख क्षेत्री भन्छन्, ‘कुन किसानले कुन बाली कति क्षेत्रफलमा लगाउँदै छन् ? यो कति उत्पादन हुनसक्छ ? यसको अभिलेख खडा गरेर उत्पादित फसलको बजारसमेत पक्का गर्ने कार्यक्रमको उद्देश्य हो ।’












