पोखरा , २४ पुस । कास्की जिल्लामा संचालित विभिन्न क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ। नदीजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार सम्पन्न बैठकले कास्कीमा संचालित क्रसर उद्योगहरूको सोमबारदेखि अनुगमन गर्ने निर्णय गरेको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए।
कास्की जिल्लामा संचालित केही क्रसर उद्योगहरूले वातावरण तथा विकासका पूर्वाधारहरुमा समेत प्रतिकूल प्रभाव पारेको जनगुनासो बढेपछि उक्त उद्योगहरूको बैधता र संचालनको अवस्था बुझ्न अनुगमन गरिने बताइएको हो । अनुगमनपछि त्यस्ता उद्योगहरुको विवरण तयार गरी कानुन तथा मापदण्ड विपरीत संचालित क्रसर उद्योगलाई कानुनको दायराा ल्याइने जानकारी पौडेलले दिनुभयो । वातावरण र विकासका पूर्बाधारमा समेत असर पारेको देखिएमा कानून बमोजिम कारबाही गरिने पौडेलले बताए ।
जनहित तथा कानुन विपरीत काम गर्ने जो कोही पनि कानूनको दायरामा आउनु पर्ने र कानूनी राज्यको अनुभूति हुनेगरी अब समिति क्रियाशील हुने दावी पौडेलको छ । जिल्ला समन्वय प्रमुख संयोजक रहने समितिमा जिल्लाका पालिकाका प्रमुखहरू ,प्रमुख जिल्ला अधिकारी , जिल्लाका प्रहरी कार्यालयका प्रमुख , घरेलु कार्यालयका प्रमुख , डिभिजन वन कार्यालय कास्किका प्रमुख, सशस्त्र प्रहरी बल कास्कीका प्रमुख ,राष्ट्रिय अनुसन्धान पोखरा कार्यालयका प्रमुख ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख ,पूर्बाधार बिकास कार्यालय कास्कीका प्रमुख,आन्तरिक राजस्व कार्यालय कास्कीका प्रमुख र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्राबधान रहेको छ।













