अछाम । अछामको ढकारी गाउँपालिका-८ ढकारीका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको रहस्यमय मृत्युको अनुसन्धानलाई तीव्र बनाइएको छ। प्रहरीको अनुसन्धानमा सहयोग गर्न विशेषज्ञ टोली अछाममा आउने भएको छ।
अछाम प्रहरीले यसअघि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरेको थियो। हाल थप प्राविधिक अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट विशेषज्ञ टोली बोलाइएको छ। अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि अछाम आउन सक्ने सम्भावना छ।
डीएसपी भण्डारीले भने, “मोबाइल डेटा र अन्य प्राविधिक प्रमाणहरूको आधारमा घटनाको वास्तविकता पत्ता लगाउन विशेषज्ञ टोली आवश्यक भएको छ। हामी सीआईबीसँग पनि सहकार्य गरिरहेका छौँ।”
अनुसन्धानको प्रगति
अहिलेसम्म ११ वर्षदेखि ४० वर्ष उमेर समूहका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा एक किशोरीले ५ जनालाई ढुंगा खसाल्दै गरेको देखेको जानकारीपछि अनुसन्धान त्यसै दिशामा मोडिएको छ।
घटनास्थलबाट करिब १५ मिटरको दूरीमा दुई किशोरीका शव फेला परेका थिए भने त्यस क्षेत्रभन्दा करिब ५ सय मिटर माथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जनाएका छन्। यो जानकारीले घटनालाई थप रहस्यमय बनाएको छ।
किटानी जाहेरी र प्रारम्भिक स्वीकारोक्ति
मंगलबार मृतक किशोरीका आफन्त र स्थानीयले प्रत्यक्ष रूपमा हत्यामा संलग्न दुई जनाको नामसहित सात जनाविरुद्ध किटानी जाहेरी दर्ता गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार नियन्त्रणमा लिएका दुई जनाले घटनामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन्।
११ वर्षीय एक बालकको बयानले प्रहरीलाई अनुसन्धानमा महत्वपूर्ण सहयोग पुर्याएको बताइएको छ। घटनामा थप व्यक्तिहरू संलग्न भएको आशंका गरिँदै छ, र अनुसन्धानको दायरा फराकिलो बनाइएको छ।
पोस्टमार्टम र आगामी कदम
मृतक किशोरीहरूका शव पोस्टमार्टमका लागि नेपालगन्ज पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र नियन्त्रणमा रहेका व्यक्तिहरूको बयानले घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।
शुक्रबार बाख्रा चराउन गएका किशोरीहरू शनिबार ढकारी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने रिमारवा छिन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए। घटनाको गहिरो अनुसन्धान भइरहेको र दोषीलाई कानूनी कारबाही गरिने प्रहरीको भनाइ छ।













