काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालस्थित चिनियाँ दूतावासलाई ठमेलमा नयाँ वर्षको कार्यक्रम गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।
दूतावासले ठमेलमा चिनियाँ नयाँ वर्षको कार्यक्रम गर्नको लागि महानगरसँगअनुमति मागेको थियो । तर, महानगरले ट्राफिक व्यवस्थापन भद्रगोल र सडक अस्तव्यस्त हुने भन्दै ठमेलमा कार्यक्रम गर्न दूतावासलाई अनुमति नदिएको हो ।
मेयरको सचिवालयका सदस्य भूपदेव साहले दूतावासबाट ठाउँको लागि अनुमति मागेपनि महानगरले अनुमति नदिएको बताए ।
उनले भने,‘ ठमेलमा ठाउँ पनि अभाव हुने र त्यसको कारण ट्राफिक व्यवस्थापनदेखि सडक अस्तव्यस्त हुने भएकोले त्यसको सट्टा कलंकीदेखि महाराजगन्जको बाटोमा कार्यक्रम गर्न हामीले अनुरोध गरेका छौं । त्यहाँ कार्यक्रम गर्दा उपयुक्त हुन सक्छ ।’
दूतावासले एकसाता अघि नै महानगरलाई पत्राचार गर्दै चिनियाँ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए ।
साथै, महानगरलाई सहआयोजक बस्न समेत प्रस्ताव गरेको थियो । तर महानगरले अस्वीकार गरेको छ ।












