—महेन्द्र केसी
पछिल्लो समयको सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र हो पूर्ण बहादुरको सारङ्गी । विजय बरालको मुख्य भूमिका रहेको यस चलचित्रले ४० करोड हाराहारीमा व्यापार गरेको छ। यस फिल्मले प्रदर्शनको तीन सातासम्म नेपालभर ३९ करोड ७४ लाख ग्रस कलेक्सन गरिसकेको छ ।
सारंगी रेटेर पेट पाल्ने एक गन्धर्व गायकले आफ्नो छोरालाई ‘ठूलो मान्छे’ बनाउन गरेको संघर्ष र त्यागको कथा चलचित्रले देखाएको छ । पञ्चायतकालीन नेपालको सामाजिक परिवेशलाई चित्रण गर्दै चलचित्रले बाबु–छोराको सम्वन्धलाई मार्मिकरुपमा वर्णन गरेको छ । रातदिन सारंगी रेटेर जीवन गुजारा गरिरहेको पूर्णबहादुर गन्धर्व (विजय बराल) यस चलचित्रको केन्द्रीय पात्र हुन् ।
उसले आफ्ना पिताबाट विरासतमा पाएको सारंगीलाई जिउने आधार बनाएको छ । पूर्णबहादुरलाई गाउँका कथित ठूलाबडाहरुले गर्ने तिरस्कार र सामाजिक विभेदले कुनै फरक पर्दैन । आफ्नो कर्ममा नै मागेर खान लेखेकोमा उ विश्वस्त छ । सन्तान दरसन्तानले पनि यही पेशा अंगाल्नुपर्छ भन्नेमा ढुक्क छ ।
पूर्णबहादुरले रोदी जितेर विहे गरेकी बाटुलीले श्रीमानलाई गाउँसमाजमा गरिएको अपमानजनक व्यवहारले उनलाई बिझाउँछ । सन्तानप्राप्तिपश्चात कुनै पनि हालतमा छोरालाई ‘गाइने’ नबनाउने शिक्षित बनाउन खोजेपछि त्यो प्रण पूर्ण बहादुरले अन्ततः पुरा गर्दछ । उसले सारङ्गी रेटेरै भएपनि छोरालाई डाक्टर बनाउन सक्षम देखिएको छ ।
त्यसो त गन्धर्व अर्थात गाइने जाति नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जाति हो । यो जातिको मुख्य वाहुल्य कास्की जिल्लाको बाटुलेचौर भएता पनि अन्य विभिन्न जिल्लाहरु जस्तै, तनहुँ, लम्जुङ्ग, गोर्खा, चितवन, वाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर, दाङ तथा जाजरकोट गरी नेपालको झण्डै ४१ जिल्लाहरुमा गन्धर्व जातिको बसोबास रहेको पाइन्छ । अहिले यो जाति मोटामोटी ७ हजारको हाराहारीमा रहेका छन् ।
जुन समय टेलिफोन, टेलिभिजन, रेडियो विकास भएकै थिएन, त्यतिबेला देशका कुनाकाप्चा, गाँउघरका घर, आँगन दैलो—दैलोमा राष्ट्र र राष्ट्रियताको सन्देश सुनाउने यिनै गन्धर्व जाति थिए ।
सुख—दुस्खका खबरबाहक र परी आएमा राष्ट्रका लागि मरिमेट्न तयार पार्न यिनै गन्धर्वले भूमिका खेल्थे ।एक गाउँको भलाकुसारी अर्को गाउँमा पुर्याउँथे । टिस्टादेखि पश्चिमकिल्ला काँगडासम्म पनि देश र जनताको प्रतिनिधि भई यिनै गन्धर्व गाउँदा—गाउँदै पुग्थे । स्वदेश वा विदेश जहाँँ पुगे पनि नेपाल र नेपालीको सुख—दुख, आँशु हाँसो,पीर व्यथाका भाव पोख्दै आफ्नो मातृभूमिको महिमापूर्ण गीत गाउने गर्थथे ।
नेपाली गीत संगीतको विधा गायन, वादन र नर्तनमा गन्धर्व जातिहरुको ठूलो योगदान रहेको छ । आफ्नै भाका र भेष, आफ्नै लोक संगीतको चोखो शैली यिनीहरुले आजसम्म कायम राख्दै आएका छन् । नेपाल दलित आयोगले दलित जातमा सुचिकृत गरेको पहाडे मुलका पाँच जाति मध्य गाइने वा गन्धर्व पनि एक हो ।
सामजले गन्धर्वलाई तल्लो जातमा गणना गरि हेयको दृष्टिले हेर्ने र दुव्र्यवहार गर्ने गाउँघरहरुमा व्यापक छ ।गीत गाउँदै, माग्दै आफ्नो घरपरिवार छोडेर विरानो गाँउठाँउमा जाँदाको दुखः कष्टहरु धेरै छन् । होटेलमा खाना, चिया, नास्ता खाँदा पनि आँफैले भाँडा माझ्नु पर्ने बाध्यता, समाजले दलित सम्झीएकै कारण आफूले माझेको भाँडाकुँडा ठाउँअनुसार विभिन्न किसिमले चोख्याउने परम्परा अझै सम्म पनि कायम नै छ ।
हो, यही समुदायले भागेको पीडा, दुःख, कष्ट, जीवनशैली र मुलतः पेशा प्रति केन्द्रित रहँदै यही पेरिफेरीमा चलचित्र बनेको छ । चलचित्रले सबैतिरबाट वाही वाही पाईनै रहेको छ भने आर्थिक संकलन कुनै पनि नेपाली चलचित्रले अहिलेसम्म गर्ने भन्दा बढी नै गरेको छ ।
यसरी कुनै एक जातिलाई मुल विषय बनाएर चलचित्र सफल भएपछि, ती जाति वा समुदायलाई के फाइदा होला ? प्रश्न उब्जिएको छ । यसरी कुनै पनि जाती वा समुदायको दूःख वा चित्रण गरेर चलचित्र निर्माण गरी आर्थिक लाभ लिन सफल भएपछि ती जाति वा समुदायको हक— हित वा संरक्षण लागि केही सहयोग गर्ने कि ? यसबारे सबै चलचित्रकर्मीले सोच्न जरुरी छ ।
यसो गरेमा त्यस्ता जाति वा समुदायको उत्थानको लागि सहयोग भएमा कसैको दुईमत हुने छैन् । सारंगी अनि गन्धर्व समुदाय भनेका हाम्रा इतिहास हुन्।













