पर्वत : नेपाली वैज्ञानिक भूकम्पविद् डा. शिव सुवेदीले नेचर जर्नलबाट ‘द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार हात पारेका छन्। जलजला गाउँपालिका-६ शालिजाका सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने ‘द जोन म्याडक्स प्राइज, २०२४’ मा ’जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका हुन। बुधवार लण्डनमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो। उनलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्व तयारीको लागि अभियान चलाएबापत यो अवार्ड प्रदान गरिएको हो।
डा. सुवेदीले नेपालमा भूकम्पबाट हुनसक्ने जोखिम कम गर्न भूकम्प-शिक्षामार्फत उल्लेख्य काम गरिरहेका छन्। यो वर्षको अवार्डमा मनोनयनमा छनोट भएका आठजनामध्ये विकासोन्मुख मुलुकबाट मनोनयनमा पर्ने सुवेदी एक्ला वैज्ञानिक थिए।
हरेक वर्ष विश्वका विभिन्न वैज्ञानिकलाई प्रदान गरिने यो अवार्ड ‘जोन म्याडक्स’ का नाममा प्रदान गरिन्छ। यो अवार्ड विज्ञान र वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित नीतिको लागि आवाज उठाउने वैज्ञानिकलाई प्रदान गर्ने गरिएको छ।











