बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपालको पूर्वी क्षेत्रमा रेल गुड्न सक्ने सम्भाव्यतालाई ढुङ्गेरेलको इतिहासले पुष्टि गरेको छ। विसं २०१६ देखि २०४५ सम्म सञ्चालित ढुङ्गेरेल ढुङ्गा ओसार्ने प्रयोजनले सञ्चालन भएको थियो ।
२०११ वैशाख १२ गते (२५ अप्रिल सन् १९५४) मा नेपाल र भारत सरकारबीच भएको कोशी सम्झौतापछि २०१६ सालदेखि कोशी ब्यारेज पुल निर्माण गर्न आवश्यक ढुङ्गा, गिट्टी ढुवानी गर्न रेल चलाइएको थियो ।
गाडीभन्दा पहिल्यै रेल
ढुङ्गा ओसार्नका लागि ल्याइएको रेलबाट कोशी किनार आसपासका बासिन्दा धरानदेखि भीमनगरसम्म आवतजावत गर्ने गरेको जानकार बताउँछन्। चतरादेखि भीमनगरसम्म रेलमै चढेर आवतजावत गर्ने गरेको अनुभव सुनाउँदै ८५ वर्षीय चन्द्रबहादुर कार्कीले भने, ‘रेलमै चढ्नका लागि भोकतिर्खा नै माया मारेर कुदिन्थ्यो । बसभन्दा पहिला रेल चढियो ।’
४७ किलोमिटरको दुरीमा कोइला र पानीबाट रेल चल्थ्यो । १० भन्दा बढी डब्बामा ढुङ्गा ओसार्ने गरेको रेलमा एउटा ड्राइभर, रातो र हरियो झण्डा बोक्ने एकरएक जना कर्मचारी हुन्थे। धरानको फुस्रेका पहाडबाट घिर्लिङ (रोपवे) को सहायताले ल्याइएका ढुङ्गा रेलवे चोकबाट कामदारले रेलमा ढुङ्गा चढाउने (लोड) गर्थे । रेलबाट दैनिक ओसारिएका ढुङ्गा सम्झौता अनुसार ब्यारेज पुल बनाउन भीमनगर ल्याइन्थ्यो ।
प्रकाशपुर धरहरा टोलका ७० वर्षीय नेत्रबहादुर घिमिरेका अनुसार केही यात्रु रेल चढेर आनन्द लिनकै लागि ढुङ्गामाथि बसेर पनि भीमनगर जान्थे । भीमनगरबाट छुट्ने ढुङ्गेरेलको स्टेसन कुशाह, मधुवन, राजाबास, चव्रmघट्टी, चतरा, बाङ्गे, घोपा क्याम्पमा रहेको थियो । भीमनगरबाट छुट्ने रेल खाली हुने भएकाले धरान जाने यात्रु बोकेर जान्थ्यो । फर्कंदा घोपा र चतराबाट डब्बाभरि ढुङ्गा बोकेर फर्किन्थ्यो ।
५० पटकसम्म रेलमाथि चढेको अनुभव बटुलेका चतराका युवराज भट्टराईले चेप्टा ढुङ्गामाथि भए पनि छुक छुक गर्दै चल्ने रेलमा आफ्ना साथीसँग भीमनगरसम्म पुग्ने गरेको स्मरण गरे।
‘रेलका डब्बाभरि टनाटन ढुङ्गा, ती ढुङ्गामाथि मान्छे बसेका हुन्थे । हामी मात्रै होइन, रेल चल्ने आसपासका बासिन्दा रेल चढ्न हुरुक्क हुन्थे’, उनले सम्झिए,‘ढुङ्गामाथि बसेर रेलमा गरेको यात्रा अविस्मरणीय छ।’













