पोखरा, १५ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँकै जन्मस्थल कास्कीको लेखनाथ स्थित अघौं अर्चलेमा शुक्रबार (आज) जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाद्धारा आयोजित लेखनाथको १३९ औं जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कवि शिरोमणि लेखनाथको जन्म वि.सं. १९४१ पौष १५ गते कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो ।
जन्मजयन्तीका अवसरमा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुको साथै कविता बाचन र लेखनाथले साहित्य क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व गृह तथा स्वास्थ्य मन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताउनुभयो । लेखनाथ पौड्याल नेपाली भाषीमाझ स्वदेशमा मात्र नभई विदेशमा समेत प्रख्यात हुनुहुन्थ्यो, नेता अधिकारीले भन्नुभयो ।
कार्यक्रमका विशेष अथिति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणि लेखनाथ पौड्यालले प्रकृति, मानव जीवन, समाज र कलाको माधुर्यतालाई आफ्ना कविताहरूमा भित्रसम्म उधिनेर प्रस्तुत गर्न सक्ने कविको रुपमा चिनिने गरेको बताउनुभयो । उहाँका हरेक कविताले प्रज्ञाको ज्योति जगाउँनुको साथै आनन्द दिलाउँने खालका रहेको बताउनुभयो ।
साहित्यकार सरुभक्त श्रेष्ठले भन्नुभयो ‘उहाँले लेखेका सबै कविता मानव जीवनका विषयमा मात्र होइन, मृत्युका विषयमा पनि अकाट्य दार्शनिक कविता कोर्नुभएको छ ।’ प्रकृतिको चित्रण र मनमोहक वर्णन त उहाँको काव्यशिल्पको मुटु नै भएको भनाई श्रेष्ठको छ । सोही अवसरमा बोल्दै साहित्यकार तथा पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपानेले १२ वर्षको उमेरमै कविता कोर्न थाल्नुभएका लेखनाथलाई पोखराको मनोरम प्राकृतिक दृश्यले पनि कवित्व गुणमा ऊर्जा थपिदिएको देखिन्छ । लेखनाथ पौड्यालका काव्यहरूले नेपाली भाषा विश्वका अरू भाषाभन्दा कम नभएको समेत उहाँको भनाई छ । साहित्यकार तथा समालोचक डा. रविलाल अधिकारीले लेखनाथको पहिलो कृति ‘ऋतुविचार’ थियो । उहाँका फुटकर कविताहरूमा इन्द्रधनुष, कोइली, पिँजराको सुगा, कालमहिमा आदि निकै प्रसिद्ध र लोकप्रिय रहेको बताउनुभयो ।
‘लेखनाथले नेपाली भाषामा कविता मात्र लेख्नु भएको छैन, उहाँले तरुणतपसी, शाकुन्तल, पञ्चतन्त्रलगायत संस्कृत साहित्य र दर्शनका ग्रन्थहरूलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा मात्र जान्ने, संस्कृत नबुझ्नेहरूलाई ठूलो सहयोग पुगेको छ ’ डा. अधिकारीले भन्नुभयो । साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले प्रकृतिको चित्रण गर्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले सबै ऋतुहरूप्रति उच्च सम्मानको गाथा गाउनुभएको भनाई राख्नुभयो । सो अवसरमा साहित्यकार हरिदेवि कोइरालाले शिरोमणि लेखनाथकी छोरी कुन्तीदेवी भट्टराईले लेखेको कविता समेत वाचन गर्नुभएको थियो । ‘कवि शिरोमणि लेखनाथ पौड्याल प्रकृति र मानवीय मनोभावनामा छिर्न सक्ने विलक्षण प्रतिभाशाली कविमा रुपमा चिनिनुहुन्छ’ । साहित्यकार तथा नेपाली भाषा विज्ञानका अध्यता चुडामणि रेग्मीले भन्नुभयो । जन्मजयन्तीकै अवसरमा नेपाली भाषा विज्ञानमा विशेष योगदान पु¥याउनुहुने चुडामणि रेग्मीलाई लेखनाथ साहित्य पुरस्कारद्धारा सम्मान गरिएको थियो भने उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
त्यस्तैगरी कुन्तिदेवी साहित्य पुरस्कारद्धारा साहित्यकार तथा लोक गायिका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कारद्धारा वेदनाथ अधिकारीलाई सम्मान गरिएको थियो । उक्त पुरस्कारहरु पच्चीस हजार रुपैयाँ र सम्मन पत्र रहेका छन् । त्यस्तैगरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार सरिता तिमिल्सेनालाई लेखनाथ पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको छ, उक्त पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ । त्यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ट छात्राछात्रालाई समेत प्रत्येक जन्मजयन्तीमा पुरस्कृत गरिँदै आइएको छ । उक्त कार्यक्रमको सभापतित्व लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष एवं साहित्यकार पदमराज ढकालले गर्नुभएको थियो । लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अघौं अर्चलेमा भएको थियो । उहाँलाई जन्मदिने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए। कवि शिरोमणि लेखनाथ पौड्याल वि.सं. २०२२ फाल्गुणमा शिवरात्रिका दिन ८१ वर्षको उमेरमा मृत्यु भएको थियो ।












