काठमाडौं । गृह मन्त्रालयले पूर्वप्रधानमन्त्रीकै सुरक्षामा मापदण्ड विपरीत सुरक्षाकर्मी खटाएको छ । तर मापदण्ड विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्ने आफ्नै निर्देशन पूर्वप्रधानमन्त्रीका हकमा भने गृहले कार्यान्वयन गरेको छैन ।
बुधबार गृहले मापदण्ड विपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्ने भनेको थियो । तर पूर्वप्रधानमन्त्रीहरुको हकमा लागु भएको छैन । न त एकरूपता नै छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अगुवा पछुवा गाडी नै प्रयोग गरेका छन् । अगुवा र पछुवा राख्दा करिब ३० जना सुरक्षाकर्मी एक जना पूर्वप्रधानमन्त्रीलाई खटाइएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २ जना सुरक्षाकर्मी मात्रै प्रयोग गर्दै आएका छन् ।
गृह मन्त्रालयको मापदण्ड अनुसार पूर्वप्रधानमन्त्रीलाई आजीवन सशस्त्र प्रहरीका १५ जना सुरक्षाकर्मी दिने व्यवस्था छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पाएको सुरक्षा मापदण्डभित्रै पर्छ। मापदण्डमा एकरूपता नहुनुको कारण सोध्दा गृहले भने सुरक्षा चुनौतीलाई आधार देखाउने गर्छ ।
गृहको निर्देशन अनुसार पछिल्लो ४८ घण्टामा २ सय ७८ जना सुरक्षाकर्मी फिर्ता भएका छन्। सशस्त्रले ५१ जना चालकसहित १ सय १८ जना र नेपाल प्रहरीले १ सय जना फिर्ता बोलाएको जनाएको छ । विशिष्ट पदाधिकारीका लागि मात्रै १३ सयभन्दा बढी सुरक्षाकर्मी प्रयोग भइरहेका छन् ।













