माथिल्लो मुस्ताङ– संयुक्त राज्य अमेरिकाका सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपालको दुर्गम माथिल्लो मुस्ताङ क्षेत्रको आफ्नो पहिलो भ्रमण गरेका छन्। यो भ्रमणले अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को सहयोगमा भइरहेका सांस्कृतिक संरक्षण प्रयासहरूमा भईरहेको कार्यको अवलोकन गर्नु पनि हो ।

उनको भ्रमणले प्राकृतिक विपत्ति र जलवायु परिवर्तनका कारण गम्भीर रूपमा प्रभावित नेपालका अमूल्य सांस्कृतिक सम्पदाहरूलाई संरक्षण गर्ने अमेरिकी सरकारको प्रतिबद्धता झल्काउँछ।
हार्करले सो क्षेत्रका विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरूको भ्रमण गरे, जसमा चुसाङको गोम्पा गाङ, मराङको लो गेकार, घेमी र च्याराङ गाउँका विभिन्न छ्योर्तेनहरू, र ढ्जोङ गाउँको ढ्जोङ गुम्बा रहेका थिए। यी स्थलहरूमा सन् २०१५ को भूकम्पमा ठूलो क्षति पुगेको थिए जसले नेपालको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई समेटेका छन् र बदलिँदो जलवायुका कारण अझै जोखिममा छन्।

‘यी प्राचीन गुम्बाहरूको पुनर्निर्माण मात्र संरचनाहरू पुनःनिर्माण गर्ने काम होइन, यो नेपालको जीवित इतिहासलाई संरक्षण गर्ने कार्य हो’, हार्करले भने।

सन् २००१ मा स्थापना भएको एएफसीपी अमेरिकी सरकारको सबैभन्दा प्रमुख सांस्कृतिक संरक्षण कार्यक्रमहरू मध्ये एक हो, जसले संसारभरका सांस्कृतिक स्थलहरू, वस्तुहरू, र परम्पराहरूको संरक्षणमा योगदान पुर्याउँदै आएको छ। नेपालमा मात्र, एएफसीपी ले सन् २००३ देखि २८ वटा परियोजनाहरूमा लगानी गरेको छ, जसले देशभरका महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक स्थलहरूको पुनर्निर्माणमा मद्दत पुर्याएको छ।

यी स्थलहरूको पुनर्निर्माणले नेपालको समृद्ध इतिहासप्रति सम्मान व्यक्त गर्नुका साथै संयुक्त राज्य अमेरिका र नेपालबीचको बलियो र दिगो साझेदारीको उदाहरण पनि हो।













