काठमाडौं : गत असोज ११ र १२ गतेको वर्षासँगै बाढीपहिरोका कारण मुलुकले धनजनको ठूलो क्षति भोग्यो। निरन्तरको वर्षाले विशेषगरी बागमती, कोशी र मधेश प्रदेशमा जनधनको क्षति भयो।
दशैँको सम्मुखमा करिब ३०० नागरिकले ज्यान गुमाए भने केही अझै बेपत्ता छन्। सर्वसाधारणका कैयौँ घर भत्किए। अन्य भौतिक क्षतिको विवरण ठूलो छ।
बाढी र पहिरोले ठूला राजमार्गमा आंशिक तथा पूर्णरूपले क्षति पुर्याउँदा दशैँ मान्न उपत्यकाबाट बाहिरिने नागरिकले सास्ती व्यहोर्न बाध्य भए। कतिपय नेपाली यसपालि दशैँ मान्न घरसमेत जान सकेनन्।
दशैँ अगाडि बाढीपहिरोका कारण भत्किएका सडकहरू कतै पूर्णरूपमा सञ्चालनमा आइसके भने कतै एकतर्फी मात्र सञ्चालनमा छन्।
बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्याएको थियो। सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको जानकारी अनुसार ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७७४ स्थानको पहिरो हटाइएको थियो।
अवरूद्ध सडक र बाढीले बगाएको पुल र सडक निर्माण गर्न करिब २० अर्बदेखि २५ अर्ब लाग्ने मन्त्रालयको अनुमान छ। क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाको स्थायी सुधारका लागि त्यति बजेट आवश्यक भएको जनाएको छ। दशैँअघि अरनिको राजमार्ग, बीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग आंशिक रूपमा बन्द थिए।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको थियो। तर पूर्णरूपमा क्षति भइसकेका राजमार्ग पनि अहिले सञ्चालनमा आएका छन्।
पूर्ण क्षति पुगेका ५ राजमार्गको अवस्था अहिले कस्तो छ?
मेची राजमार्ग
वर्षापछि आएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग असोज २२ गते सञ्चालनमा आइसकेको छ। मेची राजमार्गको इलाम नगरपालिका-९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनर्निर्माणपछि सञ्चालनमा आएको हो।
अवरुद्ध राजमार्गको अवरोध हटाएपछि चारपाङ्ग्रे साना र दुईपाङ्ग्रे सवारी साधन सञ्चालनमा आएको ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए। चारपाङ्ग्रे ठूला सवारी साधन र मालवाहक पनि सञ्चालनमा आइसकेको छ।
चार दिन लगाएर सडक डिभिजन कार्यालय इलामले यो बाटो खुलाएको हो। पहिरोले चुँडाएको सडकमा ‘ग्याबिङ’ जालीसहितको वाल लगाएर एवं माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाइएको थियो।
राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारीसाधन माईखोला वारी र पारीबीच बाटोमै रोकिएका थिए। माईखोला पारिका सवारीसाधनले माईखोलासम्म यात्रु ल्याउने र वारिका सवारीसाधनले पारिसम्म यात्रु लैजाने गर्दै आएका थिए।
कान्ति लोकपथ
मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ। यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सञ्चालनमा आएका छन्।
असोज १२ गतेको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो। ललितपुरतर्फको सडक यसअघि नै खुले पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो।
द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा चारवटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन्। बागमती पुल मकवानपुर-ललितपुरको यातायात सम्पर्क टुटेको थियो।
बीपी लोकमार्ग एकतर्फी
रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी गत हप्तादेखि नै आवागमन खुलाइएको छ। सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबेसीको चौकीडाँडासम्म एकतर्फी चलिरहेको छ भने बढ्दो चापले यात्रु सकसमा छन्।
अरनिको राजमार्ग
बाढीले क्षति पुर्याएको अरनिको राजमार्गमा पुन: सुख्खा पहिरोका कारण अवरुद्व भएको थियो। तर गत २७ गते नै एकतर्फी सञ्चालन भएको थियो। पाँचखाल नगरपालिका- ८ स्थित ५० किलोमा राजमार्ग अहिले दुईतर्फी सञ्चालनमा आइसकेको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ।
मध्यपहाडी लोकमार्ग
बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली खण्ड पनि सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्दराज काफ्लले दुईतर्फी नै सञ्चालनमा आएको जानकारी दिए।













