पोखरा, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विदेशीको आर्शीबादबाट नेपालमा सरकार बन्ने र चल्ने गरेको आरोप लगाउनुभएको छ । मिडिया नेपालद्धारा विहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भन्नुभयो, ‘वि.स.२०६३ सालपछि नेपालमा बाहिरी शक्तिको चलखेल बढेको हो’ । नेपालको सरकार निर्माण र संचालन विदेशीको इशारामा नै हुने गरेको आरोप लगाउँदै थापाले भन्नुभयो, ‘जसका कारण देशको राष्ट्रिय स्वाधीनता गुम्दै गएको छ ’ ।
‘दश वर्ष यता धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गर्ने क्रम तीव्र बनेको छ, धर्म परिवर्तनले नेपालको संस्कृति र सनातन धर्म संकटमा परेको छ,’ नेता थापाले भन्नुभयो, नेपालमा इसाई धर्मालम्बी संगठित रुपमा धर्मपरिवर्तन गर्ने कार्यमा जुटेको आरोप पनि थापाको थियो । धर्म परिवर्तनकै कारण नेपालका किँराती र बुद्धिष्टहरु संकटमा परिसकेको र केही समयमा हिन्दूपनि अल्पमतमा पर्ने निश्चत रहेको जिकिर थापाको छ । राप्रपा नेपाल राष्ट्रिय पार्टी नबने पनि जनताका मुद्दालाई सडकबाट नै उठाउने भनाई अध्यक्ष थापाको छ ।
‘नेपालका ठूला राजनीतिक दलहरुको सिण्डीकेट तोड्न जरुरी छ,’ थापाले भन्नुभयो ‘सिण्डीकेटका नाउँमा देशमा भ्रष्टाचार व्यापक छ, ठूला दलका नेता भ्रष्टाचारमा लिप्त हुँदा देशमा धनी र गरीव बिचको खाड्ल वढ्दै गएको छ, ’ उहाँले भन्नुभयो । ‘राज्यको ढुकुटी नेताहरुले ब्रह्मलुट पार्दा अहिले देश आर्थिक संकटमा परेको छ, ’ नेता थापाले भन्नुभयो, ‘यतिवेला बचत कर्ताले बैंकबाट आफूले चाहेको रकम झिक्न सक्ने अवस्था छैन ’ ।
मंहगी र बेरोजगारका कारण नेपाली जनताले आफ्नो दैनिकी धान्न सक्ने अबस्था नरहेको र त्यसको दोषी ठूला दलहरुनै भएको आरोप उहाँको छ । उनीहरुले जनताको हितभन्दा पनि आफ्नो स्वार्थमा काम गर्छन नेता थापाले भन्नेभयो ‘मंहगीका कारण कति मानिस बाच्नै नसक्ने अवस्थामा पुगेका छन् ’। सो अवसरमा भरखरै निर्माण भएको प्रचण्ड नेतृत्वको सरकार जनताको समस्या समाधान गर्ने कार्यमा सफल होस् भन्ने शुभकामना समेत अध्यक्ष थापाले दिनुभयो ।













