उत्तर कोरियाले दक्षिण कोरियामाथि आफ्नो राजधानीमा ड्रोन उडाएको आरोप लगाएपछि दुई देशबीच महिनौँदेखि चलिरहेको तनाव अझै चर्किएको छ। उत्तर कोरियाले राजधानी प्योङयाङमा दक्षिण कोरियाली ड्रोनले कथित रूपमा प्रचारका पर्चाहरू छरेको दावी गरेको छ। दक्षिण कोरियाले तनाव भड्काउने काम गरेको भन्दै यसबाट सशस्त्र द्वन्द्व र युद्ध पनि निम्त्याउन सक्ने उत्तर कोरियाले भनेको छ।
शुक्रवार दक्षिण कोरियामाथि यस्तो आरोप लगाएको उत्तर कोरियाले सीमामा रहेका सेनालाई गोली चलाउन तम्तयार रहन आदेश दिएको बताएको छ। दक्षिण कोरियाले पनि आफू त्यसको जवाफ दिन तयार रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
दक्षिणले आफ्ना नागरिकको सुरक्षामा कुनै पनि बहानामा आक्रमण गरे त्यो उत्तर कोरियाली शासनको अन्त्यको संकेत हुने चेतावनीसमेत दिएको छ। मंगलवार उत्तर कोरियाले दक्षिण कोरियासँग जोड्ने दुईवटा सडकको केही भाग भत्काएको थियो। उसले १४ लाख युवाहरू सेनामा भर्ती हुन वा सेनामा फर्कनका लागि आवेदन दिएको दावी पनि गरेको छ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले यसै वर्षको जनवरीमा दक्षिण कोरिया आफ्नो पहिलो शत्रु भएको घोषणा गरेका थिए। ड्रोन खसालेको पछिल्लो घटनापछि उत्तर र दक्षिण कोरियाबीच पहिलेदेखि नै चर्कँदै गएको तनाव उत्कर्षमा पुगेको छ।
अक्टोबर ११ मा उत्तर कोरियाको विदेश मन्त्रालयले दक्षिण कोरियामाथि प्योङयाङमा दुई हप्तासम्म राति राति ड्रोन पठाएको आरोप लगायो। उत्तर कोरियाली राजनीतिमा निकै प्रभावशाली अनुहार मानिने किम जोङ–उनकी बहिनी किम यो–जोङले दक्षिण कोरियालाई ‘फेरि ड्रोन पठाए निकै नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिइन्।
उत्तर कोरियाले आकाशमा उडिरहेको ड्रोनका तस्वीरहरू भएको दावी गर्दै केही धमिला तस्वीर सार्वजनिक गरेको छ। यद्यपि उत्तरको दावी स्वतन्त्र रुपमा प्रमाणित नभएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
दक्षिण कोरियाले शुरुमा उत्तर कोरियाको आकाशमा ड्रोन उडाएको अस्वीकार गरेको भए पनि पछि उसको प्रधान सेनापतिले उत्तर कोरियाको आरोपको पुष्टि वा अस्वीकार दुवै गर्न नसक्ने कूटनीतिक जवाफ दिएका थिए।
बेलुनको सहयोगमा उत्तर कोरियामा केही सामग्री पठाउने कार्यकर्ताहरूले ती ड्रोनहरू उडाएको अनुमान गरिएको छ। स्वतन्त्र उत्तर कोरिया आन्दोलनकी नेता पार्क साङ्–हकले ड्रोन घुसपैठको बारेमा उत्तर कोरियाको दावी खण्डन गर्दै भने‚ ‘हामीले उत्तर कोरियामा ड्रोन पठाएका होइनौँ।’
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले सोमवार किम जोङ उनले सेना प्रमुख, राज्य सुरक्षा र रक्षामन्त्री र उच्च अधिकारीहरूसँग भेट गरेको बताएको छ। किमले तत्काल सैन्य कारबाहीको आदेश दिएका र अधिकारीहरूलाई आत्मरक्षाको अधिकार प्रयोग गर्न भनेका बीबीसीले जनाएको छ।
दक्षिण कोरियाका सैनिक जनसम्पर्क अधिकारी ली सुङ–जुनले उत्तर कोरियाले दुई कोरियालाई जोड्ने सडकमा साना विष्फोट जस्ता उक्साउने गतिविधि गर्न सक्ने बताए। त्यसपछि दुवै कोरिया जोड्ने ज्योंगुई र डोंगहेका सडकमा विस्फोट भएको थियो।
विश्लेषकहरूले दुवै सडक लामो समयदेखि बन्द रहेकाले त्यसलाई ध्वस्त गरेर किम जोङ–उनले उत्तर कोरिया दक्षिण कोरियासँग वार्ता गर्न चाहँदैन भन्ने सन्देश दिन खोजेको बताएका छन्।
सडकमा विष्फोट भएपछि दक्षिण कोरियाली सेनाले आफ्नो सीमानजिकै गोलाबारी गरेको र उत्तर कोरियामाथि निगरानी बढाएको बताएको छ। सियोललाई घेरिएको जेओन्गी प्रान्तको सरकारले उत्तर र दक्षिण कोरियाको सिमानानजिकै रहेका ११ क्षेत्रहरूलाई खतरनाक घोषणा गर्यो।
पत्रकारहरूसँग जेओन्गी प्रान्तका उप–गभर्नर किम सुङ–जोङले भने‚ ‘यस्ता पर्चाहरू वितरण गर्दा हाम्रा जनताको जीवन र सुरक्षालाई खतरामा पार्न सक्छ, किनभने दुई देशबीचको सम्बन्ध द्रुत गतिमा बिग्रँदै गएको छ, यसले दुई देशबीच सैन्य द्वन्द्व बढाउन सक्छ।’ ड्रोन घटनाबाट उत्तर कोरियाली सरकारले देशविरुद्धको खतरा बढ्दै गएको बहाना गरेर देशभित्रै आफ्नो समर्थनलाई बलियो बनाइरहेको देखिएको विश्लेषकहरू बताउँछन्।
बुसानको डोंग–ए विश्वविद्यालय, बुसानमा राजनीति विज्ञान र कूटनीतिका प्रोफेसर कोंग डोंग–वान भन्छन्, “उत्तर कोरियाली सरकार डरको राजनीतिमा निर्भर छ र यसका लागि बाहिरी शत्रुको आवश्यकता छ। जब तनाव बढ्छ, उत्तर कोरिया शासनप्रति वफादारी बढाउन बाह्य खतरालाई जोड दिन्छ।’
‘अहिले दुवै पक्ष अर्कोलाई छुट दिन तयार छैनन्‚’ सियोलको उत्तर कोरिया अध्ययन विश्वविद्यालयका प्राध्यापक किम डोङ–युपले भने, ‘दुवैबीच आपसी अविश्वास छ, यसकारण दक्षिण कोरियाले रणनीतिक रुपमा यो समस्या कसरी सम्हाल्ने भन्ने विषयमा सोच्न जरुरी छ।’
यद्यपि तत्काल दुई देश युद्ध गर्न अग्रसर भइहाल्ने सम्भावना नरहेको विश्लेषकहरुको भनाई छ। प्रोफेसर कोंग भन्छन्, ‘मलाई यो अवस्था युद्धको तहसम्म पुग्नेमा आशंका छ। उत्तर कोरियाले आन्तरिक समन्वयलाई बलियो बनाउन सैन्य मुठभेडको फाइदा उठाइरहेको छ।’
‘म युद्ध शुरु गर्ने उत्तर कोरियाको क्षमतामाथि प्रश्न उठाउँछु। यस्तो द्वन्द्वले गम्भीर परिणाम निम्त्याउने कुरा उसलाई राम्ररी थाहा छ‚’ प्रोफेसर किमले भने। सियोलको कोरिया युनिभर्सिटीमा उत्तर कोरियाली अध्ययनका प्राध्यापक नाम सुङ–वुकले कथित ड्रोन उडानलाई लिएर हालैको झगडा सम्भवतः ‘मौखिक झगडा’ मै सीमित रहने बताए।
‘दक्षिण र उत्तर कोरिया दुवैलाई पूर्ण रुपमा युद्धको लागतको बोझ वहन गर्न सक्दैनन् भन्ने थाहा छ‚’ प्रोफेसर नामले भने‚ ‘उनीहरूले वास्तवमा आणविक हतियार प्रयोग गर्ने सम्भावना न्यून छ।’
प्राविधिक रूपमा उत्तर र दक्षिण कोरिया अझै पनि युद्धको अवस्थामा छन् किनभने सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएपछि दुवैले शान्ति सन्धिमा हस्ताक्षर गरेका थिएनन्।
दक्षिण कोरियाको स्थापना भएदेखि नै एकपटक फेरि एकीकरण उत्तर कोरियाको विचारधाराको महत्वपूर्ण हिस्सा रहेको छ तर गत जनवरीमा किम जोङ–उनले दक्षिण कोरियासँग पुनः एकीकरण सपनामात्र भएको बताएपछि एकीकरण हुने सम्भावना सकिएको देखिन्छ।
किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियालाई रुसनिकट बनाएका छन् र दक्षिण कोरियाका प्रमुख सहयोगी अमेरिकालगायत पश्चिमी देशहरूबाट अलग्याएका छन्।
यसका अलावा उत्तर कोरियाको चीनसँग लामो समयदेखिको सम्बन्ध पनि निकै महत्वपूर्ण छ। ड्रोन घटनालाई मध्यनजर गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सबै पक्षलाई प्रायद्वीपमा संघर्षको हुने सम्भावना नचर्काउन आग्रह गरेका थिए।













