– दिव्य गिरी
लामबद्ध थिए केही मान्छेहरू । तिनीहरूलाई अरू मान्छेहरू चम्चे भन्थे । ती चम्चे भनिएकाहरूको चुरिफुरी हेर्दै अचम्म लाग्थ्यो । चम्चेहरूको आदेश वा हुकुम भने अनौठो थियो । हुकुम नमान्नेहरूको तिनीहरू सातो लिन्थे । सातो गएपछि जस्तो मै हुँ भन्नेको पनि अनुहारभरि पसिना निस्किन्थ्यो ।
अचम्म ! अनुहारको पसिना पुछ्न पनि तिनै चम्चेहरूको अनुमति चाहिन्थ्यो ।
चम्चेहरूकै आदेश, निर्देश र हुकुमबाट चलिरहेकोथ्यो राजनीति र राजनीतिक व्यापार । यता राजनीतिक व्यापारीलाई फुर्सद नै थिएन भ्रष्टाचार गर्न र कमिसन पोको पार्न । भ्रष्टाचारको पहाड यति अग्लो भइसकेको थियो कि भ्रष्टाचार आफै लजाइसकेको थियो । तर चम्चेहरू भने निकै खुशी थिए, दङ्ग र प्रफुल्ल मुद्रामा बसेर इमान्दारीको बिगुल फुकिरहेका थिए ।
बिगुल फुकेको आवाज शहरभरि मात्र होइन मालिकको कानसम्म पनि पुग्नै पर्दथ्यो । शहरमा एकदिन ठूलो जुलुस निस्कियो । जुलुसमा हिँड्ने तिनै चम्चेहरूको हात हातमा चम्चा थियो । उनीहरूको माग थियो – ‘अब हामी चम्चेहरूको पनि सम्मान हुनुपर्छ र यो शहरको चोक चोक अनि चौबाटोमा चम्चाको सालिक बनाएर राख्नुपर्छ ।’
उता मालिक चाहिँ सोचमग्न भयो – चम्चेहरूलाई अब कसरी सम्झाउने ?
साभारः लघुकथा कुनोबाट













