काठमाडौं – विकिनी किलरका रुपमा चिनिएका चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि निष्कासन गरिएको छ।
गृहमन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेलका अनुसार १९ वर्षपछि जेलबाट छुटेका शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउने गरि निष्कासन गरिएको हो ।
हत्या र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई शुक्रबार बिहान छुटेका शोभराजलाई अध्यागमन विभागले पनि आजै फ्रान्स निष्कासनको प्रक्रिया अघि बढाएको छ।
२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।













