काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ ।
मन्त्री प्रदीप पौडेलले डेंगी तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको हो ।
मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ ।
टोलीहरूले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलन नदिन र संक्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
आगामी दिनमा थप समस्या आउन नदिन केन्द्रीय, प्रदेश तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।













