काठमाडौँ । कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। केन्द्रमा एमाले कांग्रेस गठबन्धनको नयाँ सरकार बनेपछि कोशी प्रदेशमा एमाले गठबन्धनको सरकारमा रहेका माआवादी केन्द्रका चारजना मन्त्रीहरुले आज राजीनामा दिने तयारी गरेका हुन्।
माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङबोले पार्टीको निर्णय अनुसार एमाले गठबन्धनको सरकारबाट आफुहरु बाहिरिन लागेको र आज शुक्रबारै मुख्य मन्त्रीको समय मिलाएर मन्त्रीहरुले राजीनामा दिने बताए।
कोशीमा माओवादी केन्द्रका गणेश उप्रेती, नारायण बुर्जामगर , राजेन्द्र कार्की र बन्दना झाँगड मन्त्री छन्। पछिल्लो सयम २७ बैसाख २०८१ म एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र सहभागी भएको थियो ।
माओवादीका मन्त्रीहरुले राजीनामा दिएसँगै कोशीमा अब मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा गठबन्धनमा रहेका कांग्रेसका मन्त्रीहरु नियुक्त्त भएर सरकारमा सहभागी हुनेछन्।













