कल्पना के हो ?
त्यहाँ जान पाए हुन्थ्यो, त्यो वस्तु वा व्यक्तिसँग भेट भए हुन्थ्यो, यति धन, यस्तो ठाउँ, यस्तो व्यक्ति भेटाउन सके कति राम्रो हुन्थ्यो आदि विचारका तरङ्गहरू नै कल्पना हुन् । स्मृति भनेको मरेका कुराहरूको चिन्तन हो । कल्पना भनेको अनावश्यक व्यर्थ चिन्तन हो । शरीर, इन्द्रिय नाशवान्
सम्बन्धलाई लिएर काल्पनिक व्यावहारिक चर्चा गर्नु त्यसमा सुखी दुःखी हुनु भनेको ग्राम्य वार्ता हो ।
भूत भविष्य तथा नाशवान् सम्बन्धका रक्षामा तत्पर वर्तमान तीनैलाई अहिले एक समयमा एकत्र गरी निश्चित शान्त बस्नु ध्यान हो ।
जहाँ सन्तोष, एकान्त, सावधानी, वैराग्य, विवेक छैन, त्यहाँ कल्पना आउँछ, कल्पनाले धेरै दुःख दिन्छ । घरपरिवार धनको वृद्धिलाई साधनको विकास भनिन्छ । साधनद्वारा सुविधा पाइन्छ । सुविधा भनेको राम्रा महँगा लुगा जिभ्रालाई राम्रो मीठो लाग्ने भोजन, महँगा पर्दा, विस्तरा, सोफासेट तथा अन्य साधनलाई सुविधा भनिन्छ । सुविधाले आलश्य ल्याउँछ, आलश्य आत्मकल्याणको यात्रामा कहिले काहीं सबभन्दा ठूलो बाधा बन्न सक्तछ ।
धन र मित्रहरूको वृद्धिका साथ लोभ र मोहको विकास हुन्छ । लोभले क्रोध र मोहले चिन्ताको विकास गर्छ । क्रोधको परिणाम पश्चात्ताप हो । चिन्ताको परिणाम पनि पश्चात्ताप हो । पश्चात्तापबाट वैराग्य जन्म्यो भनी त ठीक छ परन्तु धेरैजसो पश्चात्तापबाट नारी भोग, जुआ, मद्यपान तथा पलायनको जन्म हुन्छ । जसले चौरासीको नयाँ बाटो बनाउँछ । यसरी संसारमा समग्र जीवन बिताएर कमाएको धन र त्यो धनका प्रभावले जमा पारेका साथीहरू मात्र चिन्ता भन्ने वस्तु दिएर आत्माको पतन मात्रै गर्छन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













