सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताउनु भएको छ ।
मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएका बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाई थियो ।
उहाँले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । महासचिव गुरुङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क समेत गर्नु भयो ।
महासचिव गुरुङले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दावी रहेको पनि बताउनु भयो । तर संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उहाँले बताउनु भयो ।













